शनिश्चरे/पार्टी एकीकरणसम्मको योजना बनाएर आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा कार्यगत एकता गरेका वाम पार्टीका भातृ संगठनका पनि झापामा संयुक्त जिल्ला भेला गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न लागेका छन् । यस सन्दर्भमा सोमबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू र नेकपा माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारीको संयुक्त भेला सम्पन्न भएको छ ।

झापाका लागि निर्वाचन लक्षित कार्यगत एकतामा सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राप्रविसंघसहितको भेलाले ९ सदस्यीय कार्यदल गठन गरेर निर्वाचनमा परिचालित हुने निर्णय भएको छ । कार्यदलमा एमाले निकट अखिलबाट ४ जना, क्रान्तिकारीबाट ३ जना र राप्रविसंघबाट २ जना रहेको अनेरास्ववियू झापाका अध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।

निर्वाचन लक्षित उक्त कार्यदलमा अनेरास्ववियूका रोशन सुवेदी, दुर्गा धमला, समर्पण खतिवडा र मनोज ताम्ली रहेका छन् । यसैगरी अखिल क्रान्तिकारीबाट कुमार खतिवडा, अनिल सुवेदी र सरस्वती चम्लागाईं तथा राप्रविसंघबाट मुन्ना आलम र रविन ढुङ्गाना रहेका छन् । भेलाले आसन्न निर्वाचनको प्रचार प्रसारका लागि ५ हजार १ सदस्यीय समिति पनि निर्माण गरेको सुवेदीले जनाए ।

तीनवटै राजनीतिक दलमा आवद्ध विद्यार्थी संगठनका जिल्ला कमिटी, क्याम्पस कमिटी, कक्षा कमिटी, क्षेत्रीय कमिटी, प्रदेश निर्वाचन समन्वय कमिटीका सदस्यहरू चुनाव प्रचार समितिको सदस्य रहने छन् ।