कवि रामसुन्दर देउजा ‘मन’ मुक्तकसंग्रह लिएर पाठकमाझ आएका छन् । देउजा विभिन्न विधामा कलम तिखारिरहेका एउटा आशालाग्दा मुक्तककार हुन् ।समकालीन नेपाली मुक्तकको इतिहास २०३५/०३६ अघिदेखि लेखिए पनि यसपछिको समयलाई उर्वर मानिन्छ । विसं १८३९ ताका कवि शक्तिवल्लभ अज्र्यालद्वारा रचिएको ‘तनहुँ भकुन्डो’ शीर्षकको दुई पद्य श्लोकलाई नै नेपालीमा लेखिएको पहिलो मुक्तकका रूपमा लिइन्छ । ५० र ६० को दशकमा निकै जुर्मुराएको मुक्तक विधा अहिले भने निकै सुस्ताएको छ । यसरी मुक्तक सुस्ताएको बेला काभ्रेली कवि रामसुन्दर देउजाले लामो समयदेखि लेखिआएका मुक्तक संकलन गरी पाठकसामु ल्याउने आँट गरेका छन् । सूक्ष्म तवरले प्रस्तुति दिनुपर्ने यो विधामा त्यसै हामफाल्न नहुनेमा उनी सचेत देखिन्छन् । छोटो र मीठो रूपमा झट्का दिन सकिने गुण हुन्छ मुक्तकमा। यही विधामा केही गर्नसक्ने आँट लिएर देउजा अघि बढेका छन् । कोही छन् विदेशी दबाबमा कोही छन् नोटका प्रभावमा देश कसरी उँभो लाग्छ खै ! जनताचाहिँ अभावै अभावमा । ९२३ पृ.० देश र जनताको अवस्था यो मुक्तकले बताउँछ । मुक्तककार मुक्तकका रूपमा शासकवर्गलाई जनआवाज पढाउन चाहन्छन्, सुनाउन चाहन्छन् । यति मिहिन ढंगले मुक्तकमा स्पष्ट मन खोलेका छन् देउजाले । मुक्तक लेखनमा देउजाले स्पष्ट बाटो पकडेका छन् । स्पष्ट भाव गहिराइसम्म पुर्याएर मन, मस्तिष्कलाई प्रभाव पार्ने कोसिसमा छन् । मुक्त रूपमा लेखिनुपर्ने विधा भएकाले पनि यो लेख्न सजिलो छैन । चार लाइनमा चोटिलो व्यंग्य प्रहार गर्नु भनेको चानचुने कुरा अवश्य होइन । अझै यो रहरमा लेखिने विधा पनि होइन । जति छोटो, उति द्विविधा हुन्छ । भनिन्छ नि, छोटो बाटो अति खतरनाक १ यो खतरालाई अँगालेर अघि बढ्न तत्पर देखिएका छन्, देउजा ।
मुक्तकको चोटिलो प्रहारबाट श्रोता, पाठक परिचित छन् । त्यसैले मुक्तकमा लाग्नु पक्कै सजिलो छैन । देउजा ‘मन’भित्र आक्रोश, पीडा, समाज, प्रेम, राजनीति, विसंगतिका कुरा छरपस्ट छन् । विशेष गरी प्रेम र राजनीतिक व्यंग्यमा बढी मुक्तक रचिएको पाइन्छ । उनी पनि यसबाट पर छैनन् । प्रकृति, समाज, संस्कृतिले पनि मुक्तकमा ठाउँ पाउनु आवश्यक छ । मुक्तकको आफ्नै विशेषता हुन्छ । यो गजलको केही शेरचाहिँ अवश्य होइन । तर, ‘मन’भित्रका केही मुक्तक गजलका शेर मात्र भइदिएका छन् । किताबका सबै मुक्तक ‘मुक्तक’ बनेका छैनन् । यो मुक्तककारको कमजोरी हो ।
आजका दिनमा गजलका विशेष पारखीहरू छन् । गजलको खहरेबाट मुक्तकले आफ्नो पहिचान जोगाउनुचाहिँ पर्छ । त्यसैले मुक्तककार यस्ता कुराबाट सचेत रहे मुक्तक क्षेत्रमा उनको भविष्य राम्रो छ । लेखक : रामसुन्दर देउजा प्रकाशक : जनमत प्रकाशन पृष्ठ : १०८ मूल्य : रु. १५०