तेह्रथुम । आगामी मंसिर २१ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका तेह्रथुममा कांग्रेसले विभिन्न प्रचार प्रसार समितिहरु गठन गरेको छ । मुल निर्वाचन परिचालन समितिको संयोजकमा पार्टी सभापति तथा प्रदेश सभा ‘क’ का उम्मेदवार गोविन्द ढुंगाना रहेका छन् । समितिको सदस्यमा केन्द्रय सदस्य भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सीता गुरुङ, पूर्वसांसद तथा महासमिति सदस्य तुलसी सुब्बा, पूर्व जिल्ला सभापति भीमप्रसाद इस्बो, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना र सदस्य सचिवमा प्रदेश सभा ‘ख’का उम्मेदवार विजय सम्बाहाम्फे रहेको प्रचार समिति गठन गरीएको कांग्रेसले जनाएको छ । कांग्रेसले जिल्ला उप–सभापति अर्जुन तुम्बाहाम्फेको संयोजकत्वमा १ हजार ६ सय १ सदस्यीय जिल्ला स्तरीय प्रचार प्रसार समिति गठन गरेको सचिव सन्तोष सुब्बाले जानकारी दिए । प्रदेशसभा ‘क’ मा अर्जुनबाबु माबोहाङको संयोजकत्वमा र प्रदेशसभा ‘ख’ मा केशवप्रसाद भेटुवालको संयोजकत्वमा प्रचार प्रसार तथा निर्वाचन परिचालन समिति गठन गरीएको कांग्रेसले जनाएको छ । प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रमा छिरिङ फुटिक शेर्पाको संयोजकत्वमा र ‘ख’ निर्वाचन क्षेत्रमा शनिशा भेटुवालको संयोजकत्वमा महिला संघ क्षेत्रीय चुनाव प्रचार प्रसार समिति समेत गठन गरीएको सभापती ढुंगानाले जानकारी दिए । यसै गरि वाम–गठबन्धनले माओवादी केन्द्रका जिल्ला इन्चार्ज पार्टी पोलिटव्यूरो सदस्य दुर्गाप्रसाद चापागाई ‘सचिन’ लाई चुनावी कमाण्डर बनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुवै तहका निर्वाचन परिचालनका लागि चापागाई चुनावी कमान्डर वनेका हुन् । बाम गठबन्धनको तर्फ वाट जिल्लामा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको छ । दुई पार्टीको संयुक्त भेलाले चुनावी कमाण्डरको जिम्मेवारी चापागाईलाई दिएको हो । भेलाले जिल्लास्तरीय वाम–एकता संयोजन समिति पनि गठन गरेको एमाले जिल्ला उपसचिव भुपतिलाल श्रेष्ठले बताए । समितिमा एमालेका तर्फबाट प्रदेश कमिटी सदस्य तेजमान कन्दङवा, पूर्वसांसद भवानीप्रसाद खापुङ, पूर्वसांसद विष्णुमाया विक र जिल्ला अध्यक्ष लक्ष्मण तिवारी तथा माओवादी केन्द्रका जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाई, पोलिटव्युरो सदस्य सुशीला कन्दङवा र जिल्ला संयोजक इन्द्र इम्सङ रहेका छन् । चापागाई संयोजकत्वको चुनाव परिचालन समितिको सदस्य सचिव एमाले जिल्ला सचिव भुपतिलाल श्रेष्ठलाई जिम्मेवारी दिएको छ । समिति १ हजार ५ सय १ सदस्यीय छ । गठबन्धनले माओवादी सह–संयोजक गणेश सेनेको संयोजकत्वमा प्रदेशसभा ‘क’ क्षेत्रीय प्रचार समिति तथा एमाले पूर्व सचिव विष्णुविक्रम कन्दङवाको संयोजकत्वमा प्रदेशसभा ‘ख’ क्षेत्रीय प्रचार समिति गठन गरेको जनाएको छ । गठबन्धनले जिल्लाका दुई नगरपालिका र चार वटै गाउँपालिकामा छुट्टा–छुट्टै प्रचार प्रसार समिति गठन गरेको छ ।