झापा । आफ्नो निर्वाचन क्षेत्रबाट सातौं पटक चुनावी मैदानमा ओर्लिएका नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको चुनावी समीकरण उनैलाई अत्याउने खालको छ। झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट उदाएर राष्ट्रिय राजनीतिमा छाइरहेका सिटौलाविरुद्ध यसपटक तीन दलको मोर्चाबन्दी छ। सिटौलाविरुद्ध एमाले, माओवादी र राप्रपाको संयुक्त मोर्चा बनेको छ। यो चुनौती स्वीकारेका सिटौलाले गणतन्त्र प्राप्ति र शान्तिप्रक्रियामा आफूले निर्वाह गरेको भूमिकालाई मतदाताले अनुमोदन गर्ने आत्मविश्वास राखेका छन्। उम्मेदवारी दर्ता र त्यसपछिका हरेक अभिव्यक्तिमा उनले गणतन्त्रको प्रखर वकालत गरिरहेका छन्। किनभने वाम गठबन्धनको समर्थनमा उनीविरुद्ध उम्मेदवार बनेका राप्रपाका नेता राजेन्द्र लिङ्देन पार्टीका महामन्त्री मात्रै होइनन् कट्टर राजावादी अभियन्तासमेत हुन्। त्यसैले सिटौला गणतन्त्रको पक्षधरले आफूलाई समर्थन गर्ने विश्वासमा छन्। तर मंसिर २१ को मतदानमा झापा ३ मा मौजुदा अवस्थाको अंकगणित हाबी होला कि सिटौलाले सोचेझैं गणतन्त्रवादी रुझान निर्णायक होला? यसको उत्तरले उनको राजनीतिक भविष्य धेरै हदसम्म प्रभावित पार्नेछ। ’यो गठबन्धनले म आश्चर्यचकित छु’, सिटौलाले भने, ’यो के का लागि भन्नेमै अन्योल छ। तर मतदाताले मैले गणतन्त्रका लागि गरेको संघर्षको मूल्यांकन गर्नेमा ढुक्क छु।’