शनिश्चरे/निर्वाचनमा मतदातालाई प्रभाव पार्ने हिसावले निर्वाचन आचारसंहिता विपरित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको भन्दै नेपाली कांग्रेस मोरङ ३ का प्रतिनिधिसभा उम्मेदवार सुनील शर्मा न्यौपाने विरूद्ध नेकपा एमालेको अगुवाईको बामगठबन्धनले उजुरी गरेको छ ।
बाम गठबन्धनका तर्फबाट मोरङ ३ का प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका एमालेका पोलिटव्यूरो सदस्य एवम् प्रमुख सचेतक भानुभक्त ढकालले शुक्रबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य समक्ष निर्वाचन आचारसंहिता विपरितको सो गतिविधि रोक्न मौखिक उजुरी गरेका हुन् । उनले मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी समेत दर्ता भइसकेको अवस्थामा त्यसखाले गतिविधि गर्नु निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको जनाउँदै त्यस्तो कार्य तत्काल रोक्नु पर्ने बताएका थिए ।
शुक्रबार विहान ढकालले सो प्रकारको उजुरी गरेपनि दिउँसोको समयमा आफुले सञ्चालन गरेको नोवेल अस्पतालमार्फत पथरीशनिश्चरे १ को पथरी बजारस्थित गोरखा डिपार्टमेन्ट दक्षिणको चोक र कानेपोखरीको विहीवारेमा न्यौपानेद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको थियो । निर्वाचन कार्यालयले भनेको भन्दै विहीवारेको शिविर रोक्न पुगेका प्रहरी हवल्दारलार्ई कानेपोखरी प्रहरी चौकी प्रमुखले भोलीदेखि रोक्ने भन्दै शुक्रबार सञ्चालन गर्न दिएको माओवादी केन्द्रका नेता दिननाथ तिम्सिनाले जनाए ।
निशुल्क शिविर सञ्चालन गर्ने समाजसेवाको भावना भए सवै समयमा र जिल्लाभरी नै सञ्चालन गर्नु पर्नेमा आफु उम्मेदवार बन्ने भएपछि आफ्नो क्षेत्रमा मात्र शिविर सञ्चालन गरेर भोट तान्ने आर्थिक प्रभाव पार्नु निन्दनीय रहेको निवर्तमान सांसद चण्डीप्रसाद राईको तर्क छ । आफ्नो उम्मेदवारीको चर्चा चल्न थालेदेखि नै २ महिना अघिदेखि नोवेल अस्पतालमार्फत न्यौपानलेले ३ नम्बर क्षेत्रमा मात्रै निशुल्क स्वास्थ्य शिविरका नाममा जनतालाई भोट बैंक बनाउने हिसावले गतिविधि गरेको उल्लेख छ ।
उता, न्यौपानेले भनें आफुले निर्वाचन आचारसंहित उल्लंघन नगरी आफुलाई मन लागेको ठाउँमा जनताको सेवाका लागि शिविर सञ्चालन गरेको जिकिर गरेका छन् ।