झापा । जाडो मौसमको शुरुवातसँगै विभिन्न स्थानमा सञ्चालन हुने भक्का व्यापार महिलाका लागि आम्दानीको भरपर्दो स्रोत बनेको छ ।
कम खर्चमा सञ्चालन गर्न सकिने, ग्राहकले खाजाका रुपमा रुचाउने र आम्दानी मनग्य हुने हुँदा महिलाका लागि सो व्यापार आम्दानीको भरपर्दो माध्यम बनेको हो । विगत ३० वर्षदेखि भक्का व्यापार सञ्चालन गर्दै आएकी अर्जुनधारा–८की ५८ वर्षीया एकादशी खवासले व्यापारबाट आएको रकम बचत गर्ने र केही घरायसी खर्च गर्ने बताइन् ।
उनँले दैनिक करिब चार किलो चामलको भक्का बिक्री गर्दै आएको बताइन् । दैनिक ७५० देखि ९०० सम्म आम्दानी हुने गरेको बताइन । प्रतिवटा भक्का १० मा बिक्री भइरहेको उनको भनाइ छ ।
त्यसैगरी, स्थानीयवासी ३५ वर्षीया पुष्पा खवास भक्का व्यापारबाट घरखर्च चलाउन सहज भएको बताउछिन् । सत्र–अठार वर्षको उमेरदेखि भक्का व्यापार शुरु गरेको उनको भनाइ छ । जागिरका लागि पढाइ नभएपछि उक्त व्यापार गर्नुपरेको बताइन् ।त्यस्तै, स्थानीयवासी ३४ वर्षीया राधिका चौधरी सासूले गर्दै आएको पेशालाई निरन्तरता दिएको बताउछिन् । दैनिक औषतमा ७०० सम्म आम्दानी हुने गरेको उनको भनाइ छ । श्रीमानको पैसा बचत गर्छौंँ र मेरो पैसाले घरखर्च चलाउने गरेका जनाइन् । जाडो मौसमको शुरुवातसँगै जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने भक्का व्यापार शनिश्चरे बजार क्षेत्रमा मात्र ६÷७ स्थानमा सञ्चालन हुँदै आएको छ ।