विराटनगर/ “दस महिना सम्म पेटमा राखेर जन्माउने म, दुःख कष्ठले हुर्काउने, बढाउने, पढाउने म हुदा हुँदै कहिल्यै उस्को लागि योगदान नदिने त्यो स्वार्थी बाबु किन चाहिने । संविधानमा आमा को नाम बाट उस्का सन्तानले नागरिकता पाउने भनी उल्लेख भएकै छ । फेरि पनि बाबू नै चाहिने । यो कस्तो पितृसत्तात्मक सोच हो ?? ” शनिबार विराटनगर महानगरपालिका निर्वाचित जनप्रतिनधीहरुलाई देखाइएको नाटकको संवाद हो यो । सहिन प्रजापति र सुबास सुबेदिले निर्देशन गरेको ‘नागरिकताबिहिन नागरिक’ कचहरी नाटक हेरेपछि सहभागि जनप्रतिनिधीहरुको आँखै रसायो । एउटी आमाले छोरालाई दुःख कष्ट सहेर एसएलसीसम्म अध्ययन गराउछिन् । छोरा राजेशले राम्रा अंक ल्यएर एसएलसी  उत्तिण गर्छन् । उच्च शिक्षा अध्ययन गर्न उनले छात्रवृत्ती पनि पाउछन् । छात्रवृत्तीमा अध्ययन गर्नको लागि राजेशले नागरिकता बनाउनुपर्ने हुन्छ ।  उनका बुवा विदेशै पलायन भएको कारणले उनकी आमाले आफनो नामबाटे नामबाट नागरिकता बनाउन प्रयास गर्छिन । छोराको नागरिकता बनाउन राजेशकी आमा गाविसदेखि वडाका कर्मचारीले केटाको बाबू नभैइकन सिफारिस गर्न मान्दैन् । आमाले कति बिन्तिभाउ गर्दापनी उनको कुरा कार्यालयमा सुनवाई हुँदैन । हरेस खादै घर पुग्छिन् । आफन्तबाट र अन्य कोहीको सहयोगबाट छोराको नागरिकता बनाउन नसकेको पिढाबोध गर्दै अन्त्यमा आत्महत्याको बाटो रोज्छिन् । नाटक मन्चन भइरहदा सहभागि जनप्रतिधनीहरुको गम्भिर मुद्रामा देखिए । महिला, कानुन र बिकास मन्चको सहयोग तथा शैली थिएटरको आयोजनामा नाटक देखाइएको थियो । नाटकले जनप्रतिनिधीहरुलाई कानुनी प्रक्रियाबारे बोध गराइएको थियोे । नाटकमा सुमित्रा कोइराला, सुबास सुवेदी, सौरब ढकाल, अभय  देबकोटा, शिशिर अर्याल, सदिन लुइँटेल, मित्र नेपालीले अभिनय गरेका थिए । कार्यक्रममा विराटनगर महानगरपालिको प्रमुख भिप पराजुली, उपप्रमुख इन्दिरा कार्की, १९ वटै वडाका वडाअध्यक्ष तथा सदस्यहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले नागरिकताको सिफारिस गर्न अब स्थानीय जनप्रतिनिधि आइसकेकोले कसैमाथी गल्ती र अन्याय हुन नदिने बताए ।