भद्रपुर । झापाको भद्रपुरका ईटा उद्योगी र आन्दोलित स्थानीबासी बिच लामो समयदेखि बल्झिएको विवाद टुगिएको छ । आगामी आर्थिक बर्ष ०७४।७५ सम्म उद्योग सञ्चालन गर्न दिने लगायतका १३ बुँदे सहमति भएपछि विवाद टुंगिएको हो ।
दुवै पक्ष बिच बल्झिएको विवादले उग्र रुपमा लिन थालेपछि भद्रपुर नगरपालिका कार्यालयले यसको समधान र पहलका लागि भुमिका निर्वाह गरेका थिए । दुवै पक्षलाई बोलाएर नगरपालिकामा गरिएको बैठकबाट ईटा उद्योगको विवाद टुंगो लगाएको नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले बताए । नायक, डिबीआई ईटा उद्योगका सञ्चालक र ईटा भट्टा पीडित संघर्ष समिति बिच भएको सहमति बुदाँ अनुसार दुई बर्षसम्म अर्थात आगामी आर्थिक बर्ष ०७४।७५ सम्म ईटा उद्योग सञ्चालन गर्न दिने, त्यसपछि वातावरणमैत्री उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउने, सो क्षेत्रमा रहेका सडक नियमित रुपमा ईटा उद्योगीले मर्मत संभार गर्ने, उद्योग आसपासका दुई वटा विद्यालयका विद्यार्थीका लागि कल्याकारी कार्य गर्ने, मानववस्ती र खेतीयोग्य जमिनको भूमि क्षति हुने गरी माटो उत्खनन् नगर्ने सहमति भएको छ । त्यस्तै डिभीआईले सरकारी पैनी मिचेकोले पैनीलाई सञ्चालनमा ल्याउन तत्काल व्यवस्थापन मिलाउने, उद्योग क्षेत्रमा धुलो नियन्त्रण गर्न नियमित रुपमा टंयाकरबाट पानी दिने, संधियारलाइ असर गर्ने गरी जथाभावी फोहारमैला नगर्ने, उद्योगीका मजदुरका लागि मापदण्ड अनुसारको शौचालय निर्माण गर्ने, धुवाबाट निस्किने प्रदुषण न्युनीकरण गर्ने , उद्योग आसपासका स्थानीयलाई सहुलियतमा ईटा उपल्बध गराउने र बुदाँमा उल्लेखित सर्तहरु के कति पालना हुन्छ त्यसको अनुगमन र निरीक्षक त्यहाँका वडा कार्यालय र आवश्यक परेमा नगर प्रमुखले गर्ने लगायतको सहमति भएको नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले जानकारी दिए । यता मन्त्रलायको कार्यविधि दिग्दर्शन २०७२ अनुसार घनाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्ने बुदाँमा उल्लेख गरेको छ । बुँदामा उल्लेख गरिएको मापदण्ड दुवै उद्योगले पूरा नगरेपछि विगत एक वर्ष अघि देखि दुईसय घरपरिवार उद्योग विरुद्ध आन्दोलित बनेका थिए ।