नेपालगञ्ज/बिरामीको चेकजाँच गरी औषधि दिन सक्ने आफूहरुको अधिकार सरकारले कटौती गरेको भन्दै सिएमएहरु आन्दोलनमा उत्रेका छन्।
सरकारले अधिकार कटौती गर्दा देशभरका करिब ८८ हजार सिएमएको पेशा–व्यवसाय नै धरापमा परेको उनीहरुको भनाइ छ ।
सिएमए संघले सरकारले भरपर्दो स्वास्थ्य सेवा पुर्याउन नसकेको दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेर विपन्न जनतालाई स्वास्थ्य सेवा पुराई रहेका सिएमएहरुको अधिकार कटौती गर्दा स्वास्थ्य सेवा पाउने अधिकारबाट स्थानीय जनता वञ्चित हुने जनाएको छ ।
संघले नेपालगञ्जमा आयोजना गरेको १४औं वार्षिकोत्सव तथा राष्ट्रिय भेलामा बोल्दै संघका केन्द्रीय अध्यक्ष गणेशबहादुर साउदले सिएमएहरुलाई थप प्रोत्साहित गर्नुपर्नेमा पेशा र व्यवसायलाई कुण्ठित गरिएको आरोप लगाए ।
‘नेपालमा बाल तथा मातृ मृत्युदर घटाउन देशभर रहेका सिएमएहरुको महत्वपूर्ण भूमिका छ, उनीहरुकै अधिकार कटौती गरिएकाले आन्दोलन गर्न बाध्य भएका हौं’, अध्यक्ष साउदले भने।
संघले नौ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल स्वास्थ्य व्यवसायी परिषदले निर्धारण गरेको मापदण्डभित्र रही बिरामीको चेकजाँच गरी औषधि दिन सक्ने अधिकार कटौतीको निर्णय सरकारले फिर्ता नलिए कडा आन्दोलन गर्ने निर्णय गरेको छ।
नेपालमा सरकारी सेवामा १५ र निजी क्लिनिकमा २५ गरी करिब ४० हजार सिएमएहरुले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । बर्सेनि करिब ४ हजार ४ सय सिएमएहरु स्वास्थ्य सेवामा प्रवेश गर्ने गरेका छन्।
स्वास्थ्यखबर