मोरङ/मोरङको पथरीशनिश्चरेका सक्रिय पत्रकार ब्लाष्टकर्मी भूपेन्द्र तिम्सिना एकैदिनमा २ वटा सम्मानले सम्मानित भएका छन् ।
प्रेस चौतारी मोरङले स्थापना गरेको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार र पथरीशनिश्चरेस्थित मत्स्य विकास सहकारी संस्थाले प्रदान गर्ने उत्कृष्ठ पत्रकारिता सम्मानबाट उनी शनिवार सम्मानित भएका हुन् ।
एकैदिन र एकै समयमा कार्यक्रम परेकाले उनले मत्स्य विकास सहकारीको पुरस्कार आफैंले ग्रहण गर्न भ्याएनन् । मैनाली पुरस्कारका क्रममा विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका सभापति नरेश पोखरेल र पुरस्कार संरक्षक कमला मैनालीले पुरस्कार प्रदान गरेका हुन् । पत्रकारितासँगसँगै साहित्य र कलाकारितामा सक्रिय भई हालसम्म राष्ट्यिस्तरका समेत गरी ३ दर्जन वढी विशेष पुरस्कार र सम्मान प्राप्त गरिसकेका तिम्सिनालाई नगद १५ हजार ५ सय ५ रुपैयाँ राशीको पुरस्कार सहित दोसल्ला, ढाकाटोपी र सम्मानपत्रले सम्मानित गरिएको हो ।
कार्यक्रममा, प्रमुख अतिथि पोखरेलका साथै प्रेस चौतारीका केन्द्रीय सदस्य लिलाराज भट्टराई, एमालेका जिल्ला अध्यक्ष विनोद ढकाल, पुरस्कार छनौट समितिका संयोजक यज्ञ शर्मा लगायतले मैनालीको योगदानका बारेमा चर्चा गरेका छन् । २ दशक बढी समयदेखि सक्रिय पुरस्कृत प्रतिभा तिम्सिनाले मैनालीको योगदानलाई अझ सम्मानित बनाएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् । विगत ९ वर्षदेखि वर्षेनी प्रदान हुँदै आएको सो पुरस्कार यसअघि दिपेन न्यौपाने, नरेन्द्र दहाल, महेन्द्र विष्ट, ललिता भट्टराई, वन्धु पोखरेल, विक्रम लुइटेल, धर्मराज ढकाल र केदार चौहानले प्राप्त गरिसक्नु भएको छ ।