शनिश्चरे/झापामा जिल्लाका सहकारी संस्थाले करिब २४ अर्बको कारोबार गरेका छन् ।

२०७२/७३ मा लेखा परीक्षण प्रतिवेदन बुझाएका सहकारी संस्थाको कुल कारोबार रु २३ अर्ब ९६ करोड ५१ लाख ६७ हजार रहेको सहकारी डिभिजन कार्यालयका डिभिजन अधिकृत दुर्गाप्रसाद न्यौपानेले जनाए । वर्षेनी सहकारी थपिने क्रम बढेसँगै कारोबारमा पनि वृद्धि हुँदै गएको उनले उल्लेख गरे ।

आर्थिक वर्ष २०७३/७४ को भनें प्रतिवेदन आउन वाँकी रहेको छ । सहकारी संस्थाले असोज मसान्तसम्म कार्यालयमा लेखा प्रतिवेदन बुझाउनुपर्ने नियम छ । असोज मसान्तपछि सहकारीले जरिवाना बुझाएर लेखापरीक्षण प्रतिवेदन बुझाउने सक्ने प्रावधान छ ।

आर्थिक वर्ष २०७३/७४ सम्ममा जिल्लामा ८ सय ९९ वटा सहकारी दर्ता भएमध्ये ९ वटा खारेज भएको र ६ वटा आपसमा गाभिएका छन् ।

बचत तथा ऋण प्रकृतिका सहकारी संस्थाको कारोबार उच्च रहेको देखिएको छ । प्रतिवेदन बुझाएका २ सय ३६ वटा बचत तथा ऋण प्रकृतिका सहकारी संस्थाले ६ अर्ब ८५ करोड ७७ लाख ८५ हजार बचत गरी रु ९ अर्ब १० करोड ८१ लाख ८३ हजार ऋण लगानी गरेका छन् ।

यस्तै प्रतिवेदन बुझाएका २ सय ७३ वटा कृषि प्रकृतिका सहकारी संस्थाले १ अर्ब ३९ करोड ८७ लाख ७७ हजार ६ सय ४७ बचत गरी २ अर्ब २९ करोड ९५ लाख ४० हजार ८ सय ३४ ऋण लगानी गरेका छन् ।

प्रतिवेदन बुझाएका ७४ वटा बहुउद्देश्यीय प्रकृतिका सहकारी संस्थाले ५ अर्ब ३७ करोड ९४ लाख ९० हजार बचत तथा ६ अर्ब २५ करोड चार लाख ७७ हजार ऋण लगानी गरेको कार्यालयको तथ्यांकले देखाएको छ ।

१ सय ४६ वटा सहकारीले वर्षेनी १ करोडदेखि ५ करोड, ४८ वटा सहकारीले ५ करोडदेखि रु ५० करोडसम्मको कारोबार गरेको देखिएको छ । जिल्लाका ४ वटा सहकारीले भनें ५० करोडभन्दा बढी कारोबार गर्दैआएका छन् ।