फिल्म 'लज्जा'बाट नेपाली रजतपटमा भित्रिएकी नायिका शिल्पा पोखरेल अहिले नेपाली फिल्मकी व्यस्त नायिकाको रुपमा गनिन्छन् । 'लज्जा'बाट फिल्ममा डेब्यू गर्नुभन्दा अगाडि नै शिल्पाले सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी थिइन् । म्यूजिक भिडियोबाट नाम र दाम दुवै राम्रो कमाइरहेको बेला उनमाथी नजर पर्‍यो निर्माता छविराज आझाको । रेखा थापाबाट टाढिएर बसेका छविराज ओझाले फिल्म 'लज्जा'बाट शिल्पालाई डेब्यू गराए ।
 
'लज्जा' सफल भयो । त्यसपछि त छविराज ओझाले शिल्पालाई छाड्ने त कुरै भएन । फेरि शिल्पाले छविराज ओझाकै लगानीमा निर्माण भएको फिल्म 'हवल्दार सुन्तली' र 'किस्मत २' मा काम गरिन् । यी दुवै फिल्म पनि सफल ठहरिए । तीन फिल्ममा लगातार काम गरेपछि उनीहरुको प्रेम सम्बन्धको चर्चा पनि उतिक्कै चुलियो । 'किस्मत २' रिलिजताका दुवैले विवाहको विषयमा मुख खोले । केही अन्तर्वार्तामा छवि र शिल्पाले चाँडै विवाह गर्न लागेको पनि जानकारी दिए । असोज ११ गते छविराजले निर्माण गरेको र शिल्पा अभिनित फिल्म 'मंगलम' रिलिज हुँदैछ । यो फिल्मबाट शिल्पा निर्मात्रीको रुपमा पनि भित्रिएकी छिन् ।
 
अहिले बजारमा शिल्पा र छविराज ओझाको सम्बन्ध राम्रो नभएको हल्ला गाइँगुइँ चल्न थालेको छ । सिनेवृतमा चलेको हल्ला भन्छ कि शिल्पा समक्ष छविराज ओझाले विवाहको प्रस्ताव राखेका थिए तर उनले सिधै अस्वीकार गरिन् । के यो सत्य हो ? यस विषयमा फिल्मीखबर डटकमसँग कुराकानी गर्दै शिल्पाले भनिन्, 'बाहिर के हल्ला चन्छन् त्यो मलाई थाहा छैन । हाम्रो दुवै परिवारसँग विवाहको कुरा भैसकेको छ । अब विवाहको मितिमात्र जुर्न बाँकी छ । बिहे त छविराज ओझासँग नै गर्छु ।'
 
उनले विवाहको मिति जुरे यसैवर्ष लगनगाँठो कस्ने पनि बताइन् । शिल्पाले छविराज प्रोडक्शनभन्दा बाहिरको 'फागु', 'वृन्दावन', 'हामी शरणार्थी' लगायतका फिल्ममा काम गरिसकेकी छिन् । अहिले उनी फिल्म 'विरांगना' नामक फिल्मको छायांकनमा व्यस्त छिन् । शिल्पालाई छविराज प्रोडक्शनभन्दा बाहिको ब्यानर भने फलिफाप भएको देखिन्न ।