इटहरी / इटहरी उपमहानगरपालिकाका नव निर्वाचित मेयर, उपमेयर, वार्ड अध्यक्ष सहित सदस्यहरुको सपथ गराईएको छ ।निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रमको आयोजना गरी सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेको हो । कार्यक्रममा बोल्दै इटहरीका नव निर्वाचित मेयर द्वारिकलाल चौधरीले जनताको विस्वासमा पाएको मत र खाएको सपथलाई सम्झीएर सम्वृद्ध इटहरी बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाए ।
अल्पमत र बहुमतको आधारमा भन्दा पनि एकतामा काम गर्ने बताए ।‘यहाँ कोही सरकार पक्ष र कोही प्रतिपक्ष हुँदैन’ मेयर चौधरीले सपथ पछि भने ‘सेवा र विकासरुपी रथ हाँँक्न सबैको सहयोग चाहिन्छ ।’ लोकतन्त्रको आदर्शलाई पूर्ण सम्मानका साथ अघि बढ्ने पनि उनले बताए । यसै गरी उप–मेयर लक्ष्मी गौतमले निर्वाचन अघि सबै दलको मुख्य एजेण्डा कसरी चुनाव जित्ने भन्ने भए पनि अब मुख्य एजेण्डा भनेको शुसासन यूक्त इटहरी बनाउने बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाईन् । महिला आन्दोलन र महिलाका मुद्धालाई एकै थलोमा राखेर समाधान गरिने पनि उनले बताइन् ।
कार्यक्रममा इटहरीमा निर्वाचन अधिकृत भरतमणी रिजालले मेयर, उपमेयर र वार्ड अध्यक्षलाई सपथ खुलाएका थिए । त्यस पछि मेयर द्वारिकलाल चौधरीले वार्ड सदस्यहरुलाई सपथ दिलाए । इटहरीका केही वार्डमा आइतबारदेखिनै वार्ड अध्यक्षहरुले काम थालेका छन् । साउन १ गतेदेखि पूर्णरुपमा जनप्रतिनिधीहरुले काम थाल्ने बताइएको छ । सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रमा असार १४ गतेको निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
सुनसरी क्षेत्र नम्वर २ का साँसद रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन कोइराला, पूर्व मेयर सर्वध्वज साँवा, नेपाली काँग्रेसबाट उप मेयरकी उमेद्वार विमला ढकाल, इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईलगायतले शुमकामना मन्तव्य राखेका थिए ।