भद्रपुर/भद्रपुर नगरपालिकामा निर्वाचित मेयर, उपमेयरसहित ५२ जना जनप्रतिनिधिले आइतबारदेखि पदभार सम्हालेका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भद्रपुर नगरपालिकामा निर्वाचित भएका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रमाया श्रेष्ठ, १० जना वडाध्यक्ष र ४० जना सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गर्दै सपथ खुवाएसगै उनीहरुले पदभार सम्हालेका हुन् ।

मुख्य निर्वाचन अधिकृत सुर्दशनराज पाण्डेलले मेयर, उपमेयर, वडाध्यक्षलाई सपथ खुवाएका थिए । त्यस्तै मेयर श्रेष्ठले नवर्निवाचित ४० जना सदस्यलाई सपथ खुवाएका थिए । सपथ ग्रहण पश्चात मेयर र उपमेयरसहित निर्वाचित जनप्रतिनिधिहरु नगरपालिकाको कार्यालय पुगी आ–आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका थिए ।

नगरपालिका सभाहलमा आयोजित पदभार समारोहमा कार्यकारी अधिकृत काजीमान राईले मेयर र उपमेयर लगायत जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेका थिए । सो अवसरमा बोल्दै मेयर जीवनकुमार श्रेष्ठले हामी निर्वाचित भएका जनप्रतिनिधिहरु चरित्रको आधारमा नमुना बन्नु पर्ने बताए । निर्वाचित जनप्रतिनिधिले राजनितिक दल र विचार भन्दा पनि समाजको चेतना माथि उठाउन काम र कर्तव्यमा लाग्नु पर्नेमा जोड दिए ।त्यस्तै उपमेयर चन्द्रमाया श्रेष्ठले २० बर्षअघिका जनप्रितिनिधिहरुले जनताको मालिक र शासकको रुपमा काम गरेकोमा अवस्थामा हामी जनताको मालिक र शासक नभएर सेवक भएर नगरबासीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

नगरपालिका कार्यकारी अधिकृत राईको अध्यक्षता भएको कार्यक्रममा सांसद जित गौतम, पूर्व मेयर ओमप्रकाश सरावगी, पुष्पराज पोखरेल, भरतेन्दुकुमार मल्लिक, नेपाली काग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, नवनिर्वाचित वडाध्यक्ष बन्धु कार्की लगायतले समृद्ध नगर बनाउन आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने धारणा राखे । त्यसैगरी पदभार ग्रहण पश्चता भद्रपुरका मेयर श्रेष्ठले सेवा सुविधालाई चुस्त दुरुस्त बनाउने ६ बुदे टिप्पणी आदेशमा हस्ताक्षर गरेका छन् ।

जारीको आदेशमा नगरको क्षेत्र विस्तार पछि धेरै भूभाग ग्रामीण क्षेत्र भएको र बैकको सुविधा शहरमा मात्र भएको हुदाँ जेष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका लाभग्राहीहरुले भत्ता लिन आउन कठिनाई भएको बिषयलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता सबै वडाको टोल टोलमा गएर जनप्रतिनिधिको रोहवरमा वितरण गरिने, नगर क्षेत्रका ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको सम्मानार्थ प्रत्येक २÷२ महिनामा मेची अञ्चल अस्पतालसंग सहकार्यमा नियमित स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउने , नगरको मुख्य तथा शाखा बाटोहरुकमा खाल्डा खुल्डी भई नगरबासीहरु समस्यामा आएको हुदा तत्काल मर्मत गर्ने व्यवस्था मिलाउने, नगरका डुबान क्षेत्र तथा बाढी पीडितहरुलाई सहयोग तथा व्यवस्थापनका निम्ति सम्बन्धित निकायसंग सहकार्य गर्न आवश्यक तयारीको व्यवस्था मिलाउने, नगरमा समावेश गरिएको पृथ्वीनगर गाविस क्षेत्रमा बनेका घरहरुलाई नक्सा पास अभिलेखीकरण प्रकृयाका लागि आगामी पुस मसान्त सम्म हालको दरमा ८० प्रतिशत छुट दिने व्यवस्था मिलाउने र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउने सबै प्रति धन्यवाद ज्ञापन गर्दै नगरको विजय उत्सवका दिन सवारीदुर्घटना परेका घाइते भएका नगरबासीको शिघ्र स्वास्थ्य लाभको कामना सहित बुदामा मेयर श्रेष्ठले हस्ताक्षर गरेका छन् । भद्रपुरनगर सहित अन्य गाउपालिका तथा नगरमा पनि सपथ ग्रहण सगै कार्यभार सम्माल्ने क्रम जारी रहेको छ ।