
शनिश्चरे/स्थानीय तहको दोस्रो चरणको निर्वाचन शनिबार झापा र पूर्वी मोरंगमा पनि शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ ।उत्साहपूर्वक मतदान कार्यमा सहभागि भएका मतदातामध्ये झापाको दमक ९ का ८२ वर्षीय नगेन्द्र भण्डारीको स्थानीय सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्ने क्रममा विहान निधन भएको छ । विहान साढे ८ बजेको समयमा मतदानका लागि लाइन गएर आफ्नो नाम रुजु गराउने क्रममा एक्कासी लडेका भण्डारीको त्यहीँको लाइफलाइन अस्पतालमा उपचारका लागि लाने क्रममा बाटोमै निधन भएको दमक प्रहरीले जनाएको छ । भण्डारी मुटुको रोगी रहनु भएको जानकारी आएको दमक प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले बताए ।यसैबीच, विहानसम्म पानी परेकाले केही मतदानस्थलमा केही अवेर गरी मतदान कार्य सुरु भएका छन् । झापाको अर्जुनधारमा पानीका कारण केही ढिलो गरी मतदान कार्य अगाडि बढाइएको जानकारी आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ग्रामिण क्षेत्रका मतदानस्थलमा केही ढिलो नै मतदान सुरु भएको छ । कति ठाउँमा साढे ७ बजेबाट मतदान भएको पाइएको छ । जिल्लाका सम्पूर्ण ठाउँमा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताए । विहान साढे ६ बजेसम्म पानी परेका कारण मोरंगको पथरीशनिश्चरे १ स्थित पथरी क्याम्पस र १० स्थित हिरक मावि मतदान केन्द्रमा मतदान कार्यको व्यवस्थापनमा असर परेकाले मतदान कार्य सवा ७ बजेमात्र सुरु भएको थियो । हिरक मावि मतदान केन्द्रमा भनें विद्यालयको बरण्डा मतदानस्थलका रुपमा प्रयोग गरेको भएपनि ठाउँ अपुग भएर बाहिरपट्टी टेण्ट टाँगेर मतदान कार्य अगाडि बढाइएको छ । सोही मतदान केन्द्रबाट मोरंग निर्वाचन क्षेत्र नम्बर २ का सांसद चण्डीप्रसाद राईले मतदान गरेका छन् । मतदानस्थलका रुपमा विद्यालय, क्याम्पस तथा सामुदायिक भवनहरुलाई प्रगोग गरिएको छ । कतिपय भवनहरुको बरञ्डाको भाग प्रयोग भएको र कतिपय बरञ्डाको भागले अपुग भएर बाहिर पाल टाँगेर समेत मतदान गराइएको छ । बाहिर पाल टाँगिएका ठाउँमा भनें पानी पर्दा समस्या हुने देखिएको छ । विहान पानी रोकिएर दिन शितल बनेकाले मतदाताहरुमा मतदानमा सहजता मिलेको छ । मतदाताहरु उत्साहित भएर आफ्नो गाउँ ठाउँमा सिंहदरवारको अधिकार ल्याउने प्रमुख, उपप्रमुख सहित वडाध्यक्ष र सदस्यहरु छान्न लागि परेका छन् । ज्येष्ठ नागरिकहरुको पनि उस्तै उत्साह छ । विरामी परेका, असक्तहरुलाई समेत अरुले बोकेर ल्याई मतदान गराएका छन् । मोरंगको पथरीशनिश्चरे १ का ८१ वर्षीय समाजसेवी टेकबहादुर विष्ट आफु धेरै उत्साहित भएर विहानै मतदान गरेको जनाए । ०३३÷३४ मा साविकको मधुमल्ला गाउँपञ्चायतको ९ नम्बर वडामा पर्ने पथरीको वडाध्यक्ष निर्वाचित बिष्टले भने ‘हाम्रो पालामा त व्यवस्थै त्यस्तै थियो । हामीले जनताका लागि खास काम गर्न सक्ने अवस्था थिएन । यसबेला सम्पूर्ण अधिकार गाउँमै आएकोमा खुसी लागेको छ ।’ नगर प्रमुखका उम्मेदवार कांग्रेसका गणेशकुमार खड्का, एमालेका दिलिपकुमार राई (किशोर), राष्ट्यि प्रजातन्त्र पार्टीकी हेमा ढुंगाना, नयाँशक्तिका देवराज भण्डारी, स्वतन्त्रका विजयकुमार राईले पथरी क्याम्पसकै मतदान केन्द्रबाट मतदान गरेका छन् । उपप्रमुखका उम्मेदवार एमालेकी यमुना विष्ट, संघीय समाजवादी फोरमकी खिनमाया लिम्बूले पनि सोही मतदान केन्द्रबाट मतदान गरिसकेका छन् ।