बुटवल/ दोस्रो चरणको स्थानीय तहको निर्वाचन ५ नम्बर प्रदेशका तीन जिल्ला रुपन्देही, नवलपरासी र कपिलबस्तुमा शान्तिपूर्ण रुपमा चलिरहेको सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
बिहानैदेखि मतदाताहरु उत्साहपूर्ण ढंगले मतदान गर्न निर्वाचन केन्द्रहरुमा गइरहेका छन् । २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनबाट जनप्रतिनिधि चयन गर्न उनीहरु बिहानैदेखि मतदान कार्यमा पंक्तिबद्ध रहेका हुन् । ५ नम्बर प्रदेशमा पर्ने यी जिल्लाहरुमा चुनावको विरोधमा रहेको राजपा नेपालले अवरोध गर्न सक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । चुनाव विरोध राजपाका साथै विप्लव नेतृत्वको नेकपासमेतलाई ध्यानमा राखेर सुरक्षाका सबै उपाय अबलम्बन गरिएको जनाइएको छ । चुनाव विथोल्ने अभिप्रायले पटक पटक यी जिल्लाका विभिन्न ठाउँमा बम राखेर त्रसित पार्ने काम भएका थिए भने नवलपरासीको त्रिवेणी र कपिलबस्तुको बाणगंगामा विस्फोट नै हुँदाा दुई दर्जन सर्वसाधारण घाइते समेत हुन पुगेका थिए । नवलपरासी, कपिलबस्तु र रुपन्देही तुलनात्मक रुपमा राजपा प्रभावित क्षेत्र मानिन्छ । राजपाले संविधान संशोधनलगायतका आफूहरुको माग पूरा नभएको भन्दै चुनाव बहिस्कार गरेर आन्दोलन घोषणा गरेको थियो ।
तर, भित्रभित्रै राजपाले पनि स्वतन्त्र उम्मेदवारी दिएको लोकान्तरले यसअघि नै खुलासा गरिसकेको छ ।
लाेकान्तरबाट