झापा/ संभवत नेपालकै ‘होचा’ उम्मेदवार पंकज कार्की यतिबेला भोट माग्न मतदाताको घरदैलो गरिरहेकाे  छ ।भद्रपुर नगरपालिका–८ निवासी कार्की वडा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका हुन् । चार फुट उचाइका २९ वर्षीय कार्की आफूलाई नेपालकैै होचो उम्मेदवार भएको रुपमा दाबी गरे । तर, मानिसको कदभन्दा विचार ठूलो हुनुपर्ने मान्यता उनले राखे  । ‘मानिसको विचार उच्च हुनुपर्छ,’ उनले भने– ‘नगरको भ्रष्टाचारको अन्त्य मेरो उम्मेदवारीका मुख्य कारण हो ।’ उनले युवाको बढ्दो विदेश पलायन रोख्न सक्दो पहल गर्ने दृढता पनि व्यक्त गरे । उनले भने – ‘डिग्री पढेर पनि युवा विदेसिनु परेको छ । युवाको क्षमताको आधारमा रोजगार सिर्जना गर्न विशेष पहल गर्छु ।’ उनले चुनाव चिह्न बाघ पाएको छ । युवा वर्गको समर्थन पाएकाले आफू सहज रुपमा जित्ने दाबी उनले गरे ।