धरान/दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भारतीय सेनाले गोली चलाउँदा तीनजना गोर्खाल्याण्ड समर्थक नेपाली भाषी भारतीयहरूको मृत्यु भएको छ । दार्जिलिङमा शनिबार विशेष गरेर महिलाहरूले प्रदर्शन गरेका छन् ।
गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेको विरोध प्रदर्शन गरिरहेका मोर्चा कार्यकर्तालाई शनिबार सेनाले अन्धाधुन्ध गोली चलाएको सहसचिव विनय तामाङले बताए । घटनामा दर्जनौं प्रदर्शनकारी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तामाङका अनुसार भारतीय सेनको गोली लागेर विमल शाह शंकर र सुनिल राईको मृत्यु भएको छ भने अर्का मृत्यु भएका व्यक्तिको नाम खुलेको छैन । घटनामा सुरक्षाकर्मीतर्फ आइआरबीका किरण तामाङको मृत्यु भएको छ । शनबिार दिनभरि दार्जिलिङको अवस्था तनावपूर्ण रहेको छ ।
उता, बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले कोलकातामा दार्जिलिङका विभिन्न जातीय बोर्डका प्रतिनिधिहरूसँगको छलफलमा आतंकवादी संगठनहरूसँग गोजमुमोको साठगाँठ रहेको आरोप लगाएकी थिइन । उनले आतंकवादी संगठनकै अगुवाईमा दार्जिलिङमा हिंसा भड्किएको आरोप लगाएकी छिन ।
मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषालाई स्कूलहरूमा अनिर्वाय गरेपछि नेपाली भाषीहरूले त्यसको विरोध सुरु गरेका थिए । भाषा आन्दोलनबाट सुरु भएको प्रदर्शन अलग गोर्खाल्याण्डतिर प्रवेश गरेको छ ।