झापा/चालु आवको ११ महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटी झापाले बिरामीलाई ११ हजार पिन्ट उपलब्ध गराएको छ।
जिल्लाको तीनवटा ब्लड बैंक र तीन वटा ब्लड युटिनबाट उक्त परिमाणमा रगत उपलब्ध गराइएको नेपाल रेडक्रस सोइसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए।
जिल्लामा रगतको मागसँगै आपूर्ति पनि बढ्दै गएको छ । आव २०७०/७१ मा नौ हजार पिन्ट, २०७१/७२ मा १० हजार ७५० र आव २०७२/७३ मा १० हजार १९५ पिन्ट रगत आपूर्ति गरिएको रेडक्रस झापाले जनाएको छ।
जिल्लामा रक्तदान गर्नेको सङ्ख्या बढ्दै गए पनि १०० जनामा ६० जनामात्र रक्तदानका लागि योग्य हुने गरेको पाइएको छ। ‘रक्तदान गर्ने मानिस बढेका छन्, सङ्कलन पनि बढेको छ,’ ढकालले भने, ‘धेरैमा रक्तदातामा उच्च रक्तचाप, न्यून रक्तचाप, मधुमेहलगायत दीर्घरोग देखिएकाले उनीहरु रक्तदानका लागि अयोग्य हुने गरेका छन्।’
भारतबाट आउँछन् बिरामीका आफन्त भारतको सिलिगुढीका अस्पतालबाट रगतका लागि प्रेस्किप्सन लिएर बिरामी यहाँ आउने गरेका छन् । ‘त्यताका अस्पतालले पहिला नेपालको रगत लिँदैन्थे,’ सभापति ढकालले भने, ‘अहिले लिन्छन्, त्यताबाट आउनेलाई पनि रगत उपलब्ध गराउने गरेका छौँ।’
रेडक्रस झापाले भद्रपुर, बिर्तामोड र दमक रक्तसञ्चार केन्द्र र बिर्तामोडको बिएन्डसी अस्पताल, दमकको आम्दा र लाइफलाइन अस्पतालमा रक्तसञ्चार युनिट सञ्चालन गर्दै आएको छ। इलाम, पाँचथर, ताप्लेजुङबाट बिरामी उपचारका लागि बिर्तामोड आउने गरेकाले करिब ७० प्रतिशत रगत यही खपत हुने गरेको रेडक्रस झापाले जनाएको छ।
रेडक्रस उपशाखा बिर्तामोडमा यसै सातादेखि ब्लड सेपरेटर मेसिन सञ्चालन आउन लागेको सभापति ढकालले जानकारी दिए। ब्लड सेपरेसन मेसिन सञ्चालन आएसँगै एक पिन्ट रगत चारजना पुग्ने भएको छ । रगतमा हुने प्लेट्लेस, प्लाज्मा, रातो रक्तकोष र सेतो रक्तकोष छुट्याएर बिरामीलाई जे आवश्यक छ त्यही दिन सकिने छ । ब्लड सेपरेसन मेसिन सञ्चालन गर्न आवश्यक ११ जना दक्ष जनशक्ति तयारी अवस्थामा रहेको ढकालले जानकारी दिए।
ब्लड सेपरेटर मेसिन पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगरमा सञ्चालनमा ल्याइएको छ ।
रासस