धरान/मोडलिङ क्षेत्रमा रहँदा मेकअपसँग खेल्ने बानी परेकी मोडल कुन्नी हाङस्रोङ लिम्बू यतिखेर व्युटिपार्लर खोलेर जीवनको रथ अघि बढाउँदै छिन् ।
धरान–१५ एभरेष्ट लाइनमा रोमा व्युटिपार्लर खोलेर उनले गृहणी जीवनलाई सहज बनारहेकी छन् । उनले पार्लर खोलेको दुईवर्ष नाघ्यो । जसबाट सन्तोषजनक आम्दानी मात्रै गर्दिनन् घरखर्च चलाउन र त्यसैबाट केही बचत गर्दै दैनिकी चलाइरहेकी छन् । ‘जीवन चलाउन श्रीमानको कमाई पर्खिनु पर्दैन, आफ्नै कमाईले पुग्छ, वचत पनि हुन्छ ।’ उनी भन्छिन् ।
उनले थपिन, ‘मासिक १८ देखि २० हजार रुपैया सहकारीमा वचत गर्ने गरेको छुु ।’ गृहणीहरुको लागि व्युटिपार्लर व्यवसाय सहज हुने उनको धारणा छ । ‘घरमै बसीबसी कमाउन सकिन्छ ।’ उनी भन्छिन् । अढाई लाख रुपैयाको लागतमा पार्लर खोलेकी उनले ट्रेनिङ सेन्टरको रुपमा विकास गर्ने योजना पालेकी छन् ।त्यति मात्रै हैन, व्युटिपार्लरमा कस्मेटिक सामग्री र फेन्सीको सोच पनि छ । ‘पछि बढाउने प्लानमा छु । ट्रेनिङ सेन्टरको रुपमा विकास गर्छु ।’ उनी भन्छिन् । व्युटिपार्लरको अन सिजन होस् या अफ सिजन उनले राम्रै कमाई रहेको सुनाउँछिन् । ‘दैनिक ७–८ जना आउँछन् । कोही थ्रेडिङ, कोही कर्ली गर्न आउछन् ।’ उनी थप्छिन् । विशेष गरी व्युटिपार्लर व्यवसायको अनसिजन भनेको बैसाख, भदौं, असोज, कार्तिक, मंसिर, माघ, फागुन हो । यो महिना उनको हात खाली हुँदैन । अन्य महिना भने केही सहज हुन्छ । अझ दशैतिहार र बिहेको सिजनमा यो व्यवसायमा आम्दानी तेब्बरसम्म पुग्छ ।
अन सिजनमा ८०–९० हजार रुपैयासम्म कमाई हुन्छ । त्यो बेला ४० हजार भन्दा बढी बचत गर्ने गरेको उनी बताउँछिन् । घरमै बसेर काम गर्ने गृहणीहरुको लागि उनको सुझाव छ, ‘केही नगरी बस्नु भन्दा एट लिष्ट केही गर्नुपर्छ ।’ त्यसका लागि पनि केही न केही काम गरेर बस्न सुझाव दिन्छिन् । उनको श्रीमान भारतीय आर्मी हुन् । उनले श्रीमानको कमाई आफूले खर्च नर्गने गरेको सुनाउँछिन् ।
मोडलिङ क्षेत्रमा हुँदा व्युटि टिप्स बारे जानकारी लिने, दिने र मेकअपसँगै खेल्ने भएकाले पनि उनी यसबारेमा अभ्यस्त भएको सुनाउँछिन् । त्यसो त बिहे हुनु अघि पनि कस्मेटिक व्यापारसमेत गरिन । कहिल्यै खाली बस्न नरुचाउने उनी अन्य गृहणीहरुलाई पनि त्यही सुझाव दिन्छिन् । उनको पार्लरमा बढीजसो फेसियल, कर्ली, थ्रेडिङ, ट्रिटमेन्ट गर्न आउनेहरु हुन्छन् । बिहेको सिजनमा ‘बेहुली मेकअप’ बढी गर्ने उनी बताउँछिन् ।
उनले कस्मेटिक सामग्री बिक्री गर्ने क्रममै सन् २०१४ मा निसुग्मा व्युटि सोलुसनमा तालिम लिएकी थिइन् । त्यही तालिमले अहिले उनलाई दैनिक जीवनयापन गर्न सहज बनेको छ । उनी व्यवसायबाट सन्तुष्ट छिन् । ‘सन्तुष्ट छु । अरुको भर पर्नुपर्दैन्, दुईचार पैसाको मुख देखिरखिन्छ ।’ उनी सुनाउँछिन् ।
मोडलिङमा लागेका कारणले गर्दा अहिले उनको व्यवसायलाई ८० प्रतिशत भन्दा बढी फाइदा पुगेको छ । मोडलिङमार्फत् चिन्ने जान्नेहरु उनी कहाँ नै आएर सेवा लिने गरेका छन् । जसका कारणले पनि उनलाई व्यवसाय चलाउन सहज बनेको छ । कतिपयको लागि यो व्यवसाय टाउँको दुखाईको विषय बने पनि उनलाई भने यहीँ व्यवसायले जीवन धानेको छ ।
थ्रेडिङ गर्दै सञ्चालिका तथा मोडल कुन्नी हाङस्रोङ । तस्बिरः भोजराज