दुबै राँगाको टाउको र पेटमा सेतो रङले एमालेको चुनाव चिन्ह ‘सूर्य’को चित्र बनाइएको छ ।

ती राँगालाई गाडामा नारिएको छ । र, गाडामाथि चढेर भोट माग्न मतदाताको घरसम्म पुग्दैछन् मेचीनगर नगरपालिकाका लागि एमालेका तर्फबाट प्रमुख र उपप्रमुख बनेका विष्णु प्रसाईं र मीना पोखरेल उप्रेती ।

उनीहरु नौलो ढङ्गले चुनाव प्रचार गर्ने उद्देश्यका साथ यसरी राँगा गाडा लिएर मतदातासामु गइरहेका छन् । गाडालाई ठूलो शरीर भएका प्रमुखका उम्मेद्वार प्रसाईले हाँकिरहेका छन् ।

उनकै छेउमा उभिएकी छिन्, उपप्रमुखकी उम्मेद्वार मीना र अन्य समर्थकहरु । झट्ट हेर्दा यो दृश्य रमाइलो र भिन्न देखिन्छ । तर, त्यति नै विवादित पनि बनेको छ, यो प्रचार शैली ।

एमाले समर्थक कार्यकर्ताहरुले रमाइलो मानेर राँगा गाडा चढेका उम्मेद्वारको पछिपछि हिँडे पनि सर्वसाधारणले भने यस्तो शैलीलाई ‘नचाहिँदो ढर्रा’ भनेका छन् । कतिले त पशु अधिकारको कुरा समेत गर्न थालेका छन् । सामाजिक सञ्जालमा पनि यस विषयले चर्चा पाएको छ । झापाका आयुष निरौलाले फेसबुकमा लेखेका छन्, ‘बिचरा राँगा ! यस्तो अपमान हुने काम नगरौँ है नेताज्यू, लाज शरम अलिकति भए पनि राखुम् ।’ रञ्जना खतिवडाले लेखेकी छिन्, ‘पशुमाथि अत्याचार भो । यतिका धेरै मान्छे अनि बिचरा दुईवटा राँगा ! बोरु राँगा र्‍याली निकालेको भए हुन्थ्यो कि ?

यी उम्मेद्वारले मेचीनगर–४ स्थित बाहुनडाँगी बजार आसपासका भित्री गाउँमा चुनावका प्रचारका लागि राँगा गाडा प्रयोग गरेका हुन् । राँगा गाडा पनि एउटा मात्र होइन, चारवटा छन् । झापाका उम्मेद्वारहरुले विभिन्न अनौठा शैली अपनाएर चुनावी प्रचार गरिरहेका छन् । कोहीले प्यारोडी गीत बनाएर माइकिङसहित गाउँ–गाउँ पसेका छन् भने कोही उम्मेद्वार भोट माग्दै गरेको भिडिओ बनाएर आफ्नो फेसबुकमा शेयर गरिरहेका छन् । नयाँ पत्रिकाबाट