
अँध्यारोमा सलेदो बनाउने,बाल्ने बानी परिसकेकी
मेरी आमालाई
त्यो निरन्तर उज्यालो
त्यो ननिभ्ने बत्तीले
आँखा तिर्मिराएछ
त्यो कुलमान
मेरी आमा बिरोधी हो ,
त्यो लोकमान भएन
अँध्यारो बिरोधी हो
फाँसी देऊ सरकार त्यसलाई
अँध्यारो बिरोधी अँध्यारो कोठरीमा
जाकिदेऊ उसलाई।
ऊनी बुन्नै थाले
चिनी बन्नै थाले
सेल्टरमा बसेकी
मेरी काकीले
सुइटर लाउन थालिछिन्
बट्टारमा रहेकी
मेरी माईजुले
लाईटर खोज्न छोडिन्
कुलमान आयातबिरोधी हो
झुन्ड्याई देऊ सरकार त्यसलाई
कुलमान नाङ्गो आङ्ग बिरोधी हो
चारपाटे कपाल मुडेर प्रभू
डाँडो कटाई देऊ उसलाई।
माटो बनाउन
संविधान संशोधनको
समरमा छौ
माटोमा मिलाउन
कानून निर्माणको
प्रहरमा छौ
हटाउन कहाँ बाँकी राख्यौ
अँटाउन के नै छोड्यौ
अन्धकारमा आदत बसेकी आमा
अँध्यारा विरुद्धमा लड्ने
कुलमानको लागि
फाँसी राखिदेऊ धारामा,
फाँसी देऊ उर्जामानलाई
निष्पट नाताहरूको नियति
स्पष्ट देखिने उज्यालो दिने कुलमानको
नियत विरुद्ध
मृत्यू दण्ड राखिदेऊ
कुनै उपधारामा
मुक्ति देऊ कुलमानलाई।