काठमाडौं /भरतपुर महानगरपालिकाको मतगणना भइरहेका बेला मतपत्र च्यातिएको विषयलाई अनुसन्धान गर्न बनेको समिति भरतपुर पुगेर फर्किएको छ । निर्वाचन आयोगले भरतपुरमा देखिएको विवाद समाधान गर्न सहन्यायाधीवक्ता गिता तिमिल्सिनाको नेतृत्वमा छानविन समिति गठन गरेको छ । छानविन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । छानविन समितिमा गृहमन्त्रालयका एक सहसचिव र एक डीआईजी पनि छन् ।छानविन समितिले दिएको प्रतिवेदनको आधारमा भरतपुरमा पुनः निर्वाचन गराउने कि मतगणना भन्ने निर्णय हुने निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

भरतपुरमा मत च्यातिएपछि निर्वाचन अधिकृतले निर्वाचन आयोगलाई लेखेको पत्रमा भनिएको थियो, ‘स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत २०७४ वैशाख ३१ गते पहिलो चरणमा भएको यस चितवन जिल्लास्थित भरतपुर महानगरपालिकाको मतदानबाट प्राप्त मतपत्रहरु २०७४ जेष्ठ १ गतेदेखि मतगणना प्रारम्भ गरी २९ वडामध्ये २७ वडाको मतगणना सम्पन्न गरिसकेको जानकारी गराउँदै वडा नम्बर १९ को १८०९ मतगणना भई बाँकीको मतगणना भैरहेकोमा म बाथरुमतर्फ जाँदै गर्दा एक्कासी आवाज आई फर्कि आउँदा मतगणना प्रतिनिधिमध्ये केहीले मतगणनास्थलमा प्रवेश गरी गणना भएका र नभएका गरी सयौं मतपत्र च्यात्ने काम गरी मतगणनास्थल रणभुमीतुल्य बनाई असामान्य अवस्था सिर्जना भएकाले काबु बाहिरको परिस्थिति परी तत्काल मतगणना कार्य स्थगन राखी स्थानयि तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम प्रस्तुत प्रतिवेदन व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ त्यसपछि निर्वाचन आयोगले छानविन समिति बनाएको थियो । यता नेकपा एमालेले भने कुनै पनि हालतमा पुनः मतदान गर्न नहुने माग गरेको छ । एमालेका शीर्ष नेताहरु नै निर्वाचन आयोगमा पुगेर पुनः मतदान नगर्न आग्रह गरेका हुन् ।