शनिश्चरे/मोरंगको पथरीशनिश्चरे नगरमा दलहरुले प्रमुख र उपप्रमुखको समेत उम्मेदवारी तय गरेपछि चुनावी माहोल तातेको छ ।
जसअन्तर्गत सोमबार एमालेले नगर र वडा भेला गरी अभियानलाई प्रभावकारी बनाउने नीति अघि सारेको छ ।
पछिल्लो पटक नेकपा एमालेले प्रमुख र उपप्रमुखको उम्मेदवार तय गरेपछि थप माहोल तातेको हो । नगर प्रमुखमा जिल्ला सचिवालय सदस्य दिलिपकुमार राई ( किशोर) र उपप्रमुखमा २ नम्बर क्षेत्रीय सदस्य यमुना विष्ट वाँस्तोलाको उम्मेदवारी टुंगो लागेको हो । वडाध्यक्ष र सदस्यहरु मात्र भएर वडा वडामा घरदैलो गरिरहेको एमालेले नगर प्रमुख र उपप्रमुखको उम्मेदवार तय भएपछि सातै जनाको सहभागितामा घरदैलो अभियान अघि बढाएको छ । आफ्नो नगरलाई समृद्ध बनाउने योजना सहितको अपील पनि उसले सार्वजनिक गरेको छ ।
एमालेले नगर कमिटीको भेला राखी निर्वाचनमा पार्टीलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय गरेको छ । जसमा मोहन तुम्वापोको संयोजकत्वमा १४ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन भएको छ । त्यस्तै, जीवन खतिवडाको संयोजकत्वमा बुँथ सुरक्षा कमिटी र वीरध्वज शिवाको संयोजकत्वमा साँस्कृतिक कमिटी गठन भएको छ । प्रेस चौतारीका पत्रकार सहितको संचार तथा सूचना प्रविधि विभाग समेत गठन भएको छ । सवै कमिटीहरुको एकमुष्ठ सक्रियतामा घरदैलो अभियानलाई निरन्तर प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय भएको छ ।
भेलामा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत, विदेश विभाग सदस्य युवराज वास्कोटा, २ नम्बर क्षेत्रीय इञ्चार्ज चण्डीप्रसाद राई, क्षेत्रीय अध्यक्ष भगत थपलियाले निर्वाचन अभियानलाई प्रभावकारी रुपमा निरन्तर अगाडि बढाउन निर्देशन दिएका छन् ।
यसैगरी, १ नम्बर शाखा कमिटीले सोमबार नै भेला बोलाएर नगर प्रमुख र उपप्रमुख सहित वडाका उम्मेदवारहरुसँगको कार्यक्रम राखेको छ । १ नम्बर वडामा गर्नुपर्ने कामहरुको फेहरिस्त बनाएर तयार पारेको अपील समेत सार्वजनिक गरिएको शाखा अध्यक्ष भीमकुमार राईले प्रष्ट्याए । कार्यक्रममा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत, विदेश विभाग सदस्य युवराज वास्कोटा, २ नम्बर क्षेत्रीय इञ्चार्ज चण्डीप्रसाद राईको अगुवाई रहेको थियो । सो अवसरमा नगर प्रमुखका उम्मेदवार दिलिपकुमार राई ( किशोर), उपप्रमुख यमुना विष्ट वाँस्तोला, वडाध्यक्ष बाबुराम एङदेन, महिला सदस्य रोमान्सी धिमाल, दलित महिला सदस्य इन्दिरा सुन्दास, खुला सदस्य दुुर्गाप्रसाद सिटौला र धनप्रसाद सावाले आफुहरुले गर्ने कामको प्रतिवद्धता व्यक्त गरेका थिए ।
उता, कांग्रेसकोतर्फबाट नगरप्रमुखमा गणेश खड्का र उपप्रमुखमा प्रेमला राई, माओवादी केन्द्रबाट प्रमुखमा जहरमान लिम्बू र उपप्रमुखमा राधिका गौतम, राप्रपाबाट प्रमुखमा हेमा ढुंगाना र उपप्रमुखमा पुष्पबहादुर चौहान चुनावी प्रतिष्पर्धामा घरदैलो अभियानमा छन् । संघीय लोकतान्त्रिक फोरम र नयाँशक्तिको सहकार्यमा नगर प्रमुखमा देवराज भण्डारी र उपप्रमुखमा फोरमबाट खिनमाया लिम्बू, जनजागरण पार्टी नेपालबाट नगर प्रमुखमा डेभिट राई र उपप्रमुखमा चन्द्रकुमारी जवेगु उम्मेदवार बनेर चुनावी अभियानमा छन् । ०४९ को निर्वाचनमा पथरी गाविस अध्यक्षमा एमालेबाट निर्वाचित तिलक वान्तवा पनि स्वतन्त्र रुपमा नगर प्रमुखको उम्मेदवारको दावेदार छन् । पत्रकार विजय खम्बु र राधा संग्रौला पनि स्वतन्त्र रुपमा नगर प्रमुखको उम्मेदवार आकांक्षी बनेर प्रचार प्रसारमा जुटेका छन् ।