भरतपुर/सर्वाधिक चासोमा रहेको भरतपुर महानगरपालीकाको मतगणना अन्तिम चरणमा पुगेर अवरुद्ध भएको छ । राति माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्याते पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणनाको सबै कार्यक्रम बन्द गरेको हो ।

अहिले मतगणनास्थलमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले सुरक्षा दिइरहेको छ । एमालेले पुनस् मतगणनाको माग अघि सारेको छ भने कांग्रेस र माओवादी केन्द्रले पुन: मतदानको माग गरेको छ । रातिको घटना पछि बिहान नेकपा एमालेले पुन:मतगणनाको माग अघि सार्दै पत्रकार सम्मेलन गरेको थियो । त्यसको केही क्षणमै नेपाली कांग्रेस र माओवादी केन्द्रले विज्ञप्ति निकाली स्थानीय तह ऐन २०७३ को दफा ४९ र ५० बमोजिम भरतपुर १९ मा पुन: मतदानको माग अघि सारेका छन् ।

माओवादीले मेयरका उम्मेदवार रेणु दाहाल जितको नजिक पुग्न लाग्दा एमालेका केही प्रतिनिधिले मतपत्र कब्जा गरी च्यात्न लाग्दा रक्षा गर्ने क्रममा आफ्ना प्रतिनिधिबाट च्यातिन पुगेको उल्लेख छ । मतगणनाको अन्तिम चरणमा आएर मतपरिणामलाई प्रभाव पर्ने किसिमको काम एमालेले गरेको माओवादीको आरोप छ ।

माओवादी इन्चार्ज इश्वरी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा रातिको घटनामा एमालेलाई दोषि ठहर्‍याएको छ ।

यता कांग्रेसले भरतपुर नगरपालिकाको १९ नम्बर वडाको पुनस् मतदान गराउन माग गरेको छ । कांग्रेस जिल्ला कार्य समिति चितवनले विज्ञप्ती जारी गरी दोषीलाई कारवाहीको माग गर्दै पुन: मतदान प्रकृया सुचारु गर्न भनेको छ । कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा निर्वाचन आयोगमा मतगणना प्रकृयालाई व्यवस्थित बनाउन पटकपटक आग्रह गर्दा समेत व्यवस्थित नगरेकोले घटना हुन पुगेको भन्दै सत्यतथ्य जनसमक्ष ल्याउन र दोषीलाई कारवाही गर्न भनिएको छ ।

आइतबार राति करिव पौने १२ बजेको समयमा मतगणनास्थल प्रवेश गरेका माओवादीका निर्वाचन प्रतिनिधिले मतपत्र च्यातेको बताइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणनास्थल रणभूमी बनेको उल्लेख गर्दै मतगणनालाई स्थगित गरेको बताए । एमालेले भने रातिदेखि स्थगित मतगणना सुचारु गर्न माग गरेको छ । मतपत्र च्यातेपछि तनाव उत्तपन्न भइ रोकिएको मतगणना कार्यलाई तत्काल सुचारु गर्न जोडदार माग गर्दै एमालेले घटनाका दोषीलाई कारबाहीको माग अघि सारेको छ ।

जिल्ला कमिटीले पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीका उम्मेदवार देवी ज्ञवालीले जित्नै लाग्दा एमाओवादी केन्द्रका कार्यकर्ताले धाँधली गरेर मतगणना प्रभावित पार्न खोजेको आरोप लगाएको छ । सम्मेलनमा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलद्वारा हस्तक्षरित विज्ञप्तिमा निर्वाचन कार्यालयमा मतगणा हुँदै गर्दा माओवादी केन्द्रका द्रोण सिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेल लगायतका प्रतिनिधिहरु छापामार शैलीमा भित्र पसेर भुइँमा थुपारिएको मतपत्र हातमा लिइ च्यातेको उल्लेख छ ।

महानगरपालिकाका २९ मध्ये २७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । १९ नम्बर वडाको मतगणना अन्तिम चरणमा पुग्दा राति ११:४५ बजे मतपत्र च्यातिएको हो । वडा नं २० को मतगणना गर्न बाँकी रहेको छ । यी दुवै वडा माओवादी केन्द्र र एमालेका उम्मेदवारको जित तय गर्ने वडाहरु थिए ।

एमालेको विज्ञप्तीबाट