काठमाडौं/नेकपा एमालेको व्यानरमा राजधानीको कार्की पार्टी प्यालेसमा पार्टी प्रवेशको कार्यक्रम थियो । एमालेका नेताहरु मञ्चमा बसेका थिए । पार्टी प्यालेसको हल पनि भरिएको थियो । अरु दिनको भन्दा फरक भेषभुषाका मानिसहरु बढी थिए ।

एमालेका आम कार्यकर्ताको झिनो उपस्थिति रहेको उक्त कार्यक्रममा मुस्लिम समुदायका धेरै थिए ।

राजधानीमा रहेका मुस्लिम समुदायका व्यक्तिहरु एमालेमा प्रवेश गर्ने कार्यक्रम थियो ।

पार्टी अध्यक्ष केपी ओली अरु दिनको भन्दा कम बोले भने तमलोपाका महामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीलाई खादा लगाएर एमालेमा प्रवेश गराए ।

यस्तै नेपाली मुस्लिमहरु पनि उनीसँगै पार्टी प्रवेश गरे ।

रोचक त के थियो भने एमाले प्रवेश गर्नेमा अन्सारी र नेपाली मुस्लिममात्रै नभएर वर्माबाट विभिन्न समयमा नेपाल आएर अहिले काठामाडौंको कपनमा शरणार्थीको रुपमा बस्दै गरेका करिव २ सय बर्मेलीहरु पनि थिए ।

हलमा लहरै मुस्लिम भेषभुषामा बसेका महिलाहरु नेपाली नभएर सबै बर्मेली थिए । महिलाहरू न त नेपाली जान्दथे । न त अग्रेजी या हिन्दी नै । बर्मेली युवाहरु भने हिन्दीमा कुरा गर्थे ।

कार्की पार्टी प्यालेसमा भेटिएका बर्मेली युवा अवु आलमले भने ‘हमको कुछ बात पता नही है । मिटिङमे जानेकेलिए बोले, हम आए है । हमको राजनीति कुछ मालुम् नहि है ।’

उनकी श्रीमती मुर्याम खातुनसंग कुरा गर्न खोज्दा भने केहि आउदैन भन्दै टाउको हल्लाइन् । हिन्दीमा उनका श्रीमानले भने ‘उसलाई भाषा आउँदैन ।’

एमालेमा प्रवेश गर्ने आजका मुस्लिम समुदायका धेरै युवाहरु बर्माका हुन् । उनीहरु अहिले कपनमा बस्दै आएका छन । उनीहरु नेपाली भाषा जान्दैनन् । नत नेपाली नै हुन् । तर पनि एमालेका अध्यक्ष केपी ओलीले एमालेमा प्रवेश गराएका हुन् ।

कार्की पार्टी प्यालेसमा भेटिएका अर्का बर्मेली युवा दिल महम्मद भन्छन्, ‘हामीलाई राजनीति केहि थाह छैन । नत पार्टीको नाम नै थाह छ ।

हामीलाई जाउ भनेर ल्यायो आएका हौ ।’

१६ बर्षे मोहमुद्ध हुल्हा भन्छन्, ‘बर्मामा पढ्दै थिएँ । त्यहाँ लडाई भयो हामी त्यहाँबाट भाग्नु प¥यो । उनका आमा बुवा पनि छैनन् । उनलाई पनि नेपालको राजनीति नै थाह छैन ।’

चार बर्ष पहिला बर्माबाट नेपालमा आएर कपनमा बस्दै गरेका मोहम्द हुल्हालाई पनि नेपालको राजनीति थाहा छैन । तर आफूहरुलाई अन्सारीले मिटिङमा जान भनेर बोलाएको यहाँ ल्याएर पार्टी प्रवेश गराइएको बताए ।

अहिले कपनमा ६ महिना देखि ४ बर्ष पहिला शरणार्थीका रुपमा नेपाल आएर बसेका करिब ३ सय बर्मेलीहरु छन् ।

राटाेपाटी