काठमाडौँं/ नेपाली काँग्रेसका महामन्त्री डा शशाङक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताए ।
नेपाल प्रेस युनियनको रजतमहोत्सव समापन कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दे महामन्त्री कोइरालाले दोस्रोचरणको स्थानीय तह निर्वाचन, संविधान संशोधन तथा संसदको गतिरोध अन्त हुने विश्वास व्यक्त गरे ।
नेपाली काँगे्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री गगन थापाले नेपाली काँग्रेसको नेतृत्वमा सहमतीय सरकार आवश्यक रहेको बताए । उनले संविधान लेखनमा सहयात्री दल नेकपा एमालेलाई सरकारमा आवद्ध गराउनुपर्ने बताउँदै प्रेसलाई जिम्मेवार हुन आग्रह गरे।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले लोकतन्त्रको स्तर परीक्षण गर्ने मुख्यकडी त्यसदेशको प्रेस कति जिम्मेवार छ भन्ने विषय हो भन्दै त्यसको परीक्षण गरिने बताए ।
उनले नेपाली काँग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको जानकारी दिँदै नेपालको राजनीति परिवर्तनमा नेपाली प्रेसको मुख्य भूमिका रहेको चर्चा गरे ।
सांसद रामहरि खतिवडाले सत्तामा जानु पूर्व प्रेसलाई उपयोग गर्ने र सत्ताप्राप्त पश्चात नेपाली प्रेसको विकासमा बेवस्था गर्ने संस्कारले पत्रकारिता पेसामा युवाको अरुची बढ्दै गएको धारणा राखे। सूचना आयोगका आयुक्त किरण पोख्रेलले अनुसन्धानमूलक नीतिगत भ्रष्टचारका सत्य तथ्य प्रमाणित समाचार सम्प्रेषण गर्ने पत्रकारको खडेरी पर्दे गएको सङ्केत गरे ।
नेपाल पत्रकार महासङ्घका सभापति डा महेन्द्र विष्टले उत्तेजना, आवेग र भावनामा नभइ सत्यतथ्यमा आधारित भई कलम चलाउनुपर्ने बताए । युनियनका अध्यक्ष बद्री सिङ्देलले प्रेस युनियन श्रमजीवी पत्रकारको मुद्दामा अडकिरहेको बताउँदै युनियन मर्यादित, व्यावसायिक र जिम्मेवार पत्रकारको संस्था रहेको उल्लेख गरे ।
नेपाल प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । २०४८ साल जेठ १३ गते स्थापना भएको युनियनको ७३ जिल्लामा शाखा छन् भने १३ हजार पत्रकार युनियनमा आबद्ध छन् । नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को सदस्यता लिने नेपालको पहिलो पत्रकारको संस्था हो ।
नेपाल प्रेस युनियनको २६ औँ स्थापना दिवसमा आयोजित रजतमहोत्सव समापन समारोहलाई युनियनका संस्थापक सदस्य रमेश तूफान, वरिष्ठ पत्रकार हरिहर विरही ऋषि धमला, शिव लम्साललगायतका व्यक्तिले शुभकामना मन्तव्य व्यक्तगरेका थिए । रासस