काठमाडौँ/तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले उनीहरुलाई पार्टी प्रवेश गराए ।

कार्यक्रममा अध्यक्ष ओलीले अब मुलुकको नेतृत्व गर्ने शक्ति नै आफ्नो पार्टी भएकाले दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि पहिलो पार्टी बनाउने बताए । उनले आफूहरुले दुई चरणमा निर्वाचन नगर्न र मुस्लिमहरुको रमजान पर्वलाई असर पर्ने गरी जेठ ३१ मा निर्वाचन नराख्न माग गरे पनि सरकारले नमानेकाले अव तयारी सुरु भइसकेकाले निर्वाचन नसार्न माग गरे ।

नेता नेपालले एमालेको नेतृत्वमा सरकार हुँदा अन्य पार्टीले भन्दा बढी मुस्लिमको हित र सुरक्षाका लागि बजेट र कार्यक्रम ल्याएको बताए ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा (माओवादी केन्द्र) का काठमाडौँ जिल्ला सचिव कामरुद्दिन मियाँ, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) काभ्रेका नेता आइके लामा, नेपाली काँग्रेस उदयपुरका कार्यकर्ता नारद कार्कीलगायतका हुन् ।

रासस