काठमाडाैं/भक्तपुर नगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले एक हजार ५९७ र उपप्रमुखमा रजनी जोशीले एक हजार ५९२ मत ल्याई अग्रता कायम राखेका छन् ।
दोस्रोमा नेपाली कांग्रेसका राम कासुलाले ५२४ र गङ्गा अवालले ५०३ मत प्राप्त गरेका छन् ।
नगरपालिकाको वडा नं १ को आज बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भएको छ ।
खत्रीले एक हजार ३७६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पवन भुजुले ५०४ मत ल्याएका थिए भने एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत ल्याएका थिए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् ।
त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अष्ट कवेको अग्रता कायम छ । मध्यपुरथिमी–१ को दुईहजार ९३७ मतमध्ये एक हजार ७५० मतको गणना हुँदा कवेले ८७७ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । एमालेका मदनसुन्दर श्रेष्ठले ७०६ मत ल्याई कवेलाई पछ्याउँदैछन् ।
उपप्रमुखमा कांग्रेसका अञ्जना मधिकर्मीले ७८२ र नेमकिपाका केदार खड्काले ४८५ मत प्राप्त गरेका छन् । रासस