ताप्लेजुङ/जिल्ला अदालत ताप्लेजुङले आइतबार दुई वटा बलात्कार मुद्धाको फैसला गरेको छ । जिल्ला न्यायधिस अशोक कुमार बस्नेतको इजलासले एउटा हाडनाता र अर्को छिमेकीबाट भएको बलात्कार मुद्धाको फैसला सुनाएको हो ।
६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै आठराई त्रिवेणी गाउँपालिका–४ का २२ वर्षीय ०१ (क) लाई अदालतले आइतबार १० वर्ष र हाडनातामा ३ वर्ष गरि १३ वर्षकैद फैसला सुनाएको छ ।
नातामा आफ्नै काका पर्नेले पीडितलाई बलात्कार गरेको ठहरसहित बलात्कार र हाडनाता दुवैगरि १३ वर्षकैदको फैसला भएको अदालतका श्रेस्तेदार गोपाल थापाले जानकारी दिए ।
यसैबिच १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै आठराई त्रिवेणी गाउँपालिका–२,फुलबारीका १९ वर्षीय तोर्मे भन्ने विजय शेर्पालाई अदालतले ६ वर्षकैद फैसला सुनाएको छ । शेर्पालाई कैद र नेपाल सरकारबाट पिडितलाई ५० हजार क्षतिपूर्ती भराउने फैसला गरेको हो ।
शेर्पासँग जायजेथा केही नदेखिएको÷नपाईएकाले पिडितलाई नेपाल सरकारको नाममा क्षतिपुर्ती भराउने गरि फैसला भएको अदालतका श्रेस्तेदार थापाले जानकारी दिए ।
पीडितलाई २०७३ फागुन २६ गते बलात्कार गरेको आरोपमा फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा पिडितका अभिभावकले े उजुरी दिएका थिए ।