धरान/हालै दोस्रो कृति ल्याएका थिरलोचन श्रेष्ठको कविता संग्रह ‘प्रश्नपत्र जिन्दगीको’ माथि शनिबार धरानमा परिचर्चा भएको छ । धरानको विमल गुरुङ स्मृति पुस्तकालय र तरहराको क्यानभाष साहित्य समाजले संयुक्त रुपमा उनको कविता संग्रहमाथि परिचर्चा गरेको हो । यस अघि ‘केटलिन’ नामक गजल संग्रह आएको थियो । परिचर्चाकार भाषाविद् प्रा.डा. टङ्क न्यौपाने र प्रा.डा. भीम खतिवडाले सरल भाषाशैलीका कारण कतिपय कविता बिग्रने जोखिम रहेको बताए । नेपाली मौलिक माटोको विम्वहरु प्रयोग भएको र कवितामा जटिलता नभएको उनीहरुले बताएका छन् । कार्यक्रमको सहजिकरण पत्रकार तथा साहित्यकार राजेश बिद्रोहीले गरे । कवि श्रेष्ठले संग्रहका ५ वटा कविताहरु वाचन गर्दै कार्यक्रमको प्रारम्भ गरे । संग्रहमा ५१ वटा कविताहरु रहेका छन् ।