रङ्गेली/ स्थानीय तहकोे निर्वाचनलाई लक्षित गरी मोरङ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा पार्ने भएको छ । रातको समयमा हिँडडुल गर्ने र अाफ्नाे कामबारे स्पष्ट पार्न नसक्नेलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिन थालेको छ ।
नर्वाचनलाई लक्षित गरेर प्रहरीले राति १० बजेपछि हिँडडुल गर्नेमाथि निगरानी बढाएर नियन्त्रणमा लिन थालेको हो ।काम विशेषले हिँडडुल गर्नेहरूलाई सोधपुछपछि छाड्ने गरिएको र काम खुलाउन नसक्नेलाई नियन्त्रणमा लिएर कारवाहीका लागि थप अनुसन्धान अघि बढाउन थालिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।
प्रहरीले यस विषयमा मोरङमा विशेष ‘सिभिङ अपरेसन’ नै चलाएको छ ।पछिल्लो समयमा विराटनगर नगर क्षेत्रमा बढेको चोरी, लुटपाट, डकैती तथा अन्य आपराधिक घटना नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको जानकारी एसपी भण्डारीले दिए । निर्वाचनलाई लक्षित गरेर मिलाउनुपर्ने विशेष सुरक्षा व्यवस्थाका कारण कडाइ थालिएको हो ।
‘रातको समयमा बढी मात्रामा आपराधिक घटना हुन थालेका छन्’, भण्डारीले भने, ‘त्यही भएर कारवाहीलाई तीव्र पारिएको हो ।’ राति हिँडडुल गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, अवाञ्छित गतिविधि गर्ने र होहल्ला गर्नेहरूमाथि निगरानी बढाएर नियन्त्रणमा लिन थालिएको छ ।
प्रहरीले दैनिक ५० देखि ६० जनालाई नियन्त्रणमा लिने गरेको छ । नियन्त्रणमा लिएकाहरूलाई दोषी देखिए हिरासतमा राखेर थप कारवाही अघि बढाउने गरिएको एसपी भण्डारीले जनाए । यसका साथै रातको समयमा अनावश्यक माइकिङ गर्ने र होहल्ला गर्नेलाई पनि रोकिएको भण्डारीको भनाइ छ ।प्रहरीका अनुसार यसका लागि म्यादी प्रहरीलाई पनि परिचालन गरिएको छ ।
दुईजना प्रहरीको कमान्डमा सातजना म्यादी प्रहरी अहिले खटिएको मोरङ प्रहरीले जनाएको छ । मोरङमा दुई हजार तीन सय ४६ जना म्यादी प्रहरी भर्ना भएका छन् ।