विजयपुर/ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि चिकित्सक र मृतकका आफन्तबीच तनाव उत्पन्न भएको छ ।
धरान–११ मङ्गलबारेकी भगवती विश्वकर्माको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएपछि उनका आफन्तहरूले प्रतिष्ठानको प्रसुती तथा स्त्रीरोग विभाग घेराउ गर्दै चिकित्सकमाथि कारवाहीको माग गरेका छन् ।
उनलाई चार दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । ‘नर्मल डिलेभरी’ हुन नसकेपछि बिहीबार बिहान शल्यक्रिया गरी बच्चा निकालिएको थियो ।
मृतककी बहिनी गङ्गा विश्वकर्माका अनुसार शल्यक्रियापछि बिरामी ‘पेट दुख्यो’ भन्दै कराउन थालेपछि उनलाई एमआईसीयुमा भर्ना गरिएको थियो ।
आफन्तले चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको बताए पनि प्रतिष्ठानले भने बिरामीको उपचारमा कुनै लापर्वाही नभएको बताएको छ । डेपुटी अस्पताल निर्देशक डा पप्पु रिजालले मुटुबाट फोक्सोमा रगत जाने नलीमा रगत जमेको कारण बिरामीको मृत्यु भएको हुनसक्ने बताए ।
‘यो घटनाप्रति हामी दुःखी छौँ’, उनले भने, ‘अप्रेशनपछि मुटुबाट फोक्सोमा रगत जाने नलीमा रगतको ढिक्का भएर बस्ने समस्या थोरैमा मात्र आउँछ । त्यही भएको देखिन्छ ।’यो समस्या जुनसुकै अप्रेशनका बिरामीमा पनि हुनसक्ने डा रिजालको भनाइ छ । ‘समस्या आएपछि हामीले गर्नुपर्ने उपचारमा कुनै कमी गरेका छैनौँ ।’
उनले भने । मृतकका आफन्तले घटनाको सत्यतथ्य छानबिन र चिकित्सकमाथि कारवाहीको माग गर्दै शव बुझन नमानेका छैनन् । घटनापछि अस्पताल प्रशासन र पीडित पक्षबीच बसेको वार्ता निष्कर्षमा पुग्न नसकेपछि शुक्रबार पुनः बस्ने गरी टुङ्गिएको छ ।