धरान /स्थानीय तहको निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र) धरान नगरले मेयर पदमा आइन्द्रबिक्रम बेघा उठाउने भएको छ ।
[caption id="attachment_41054" align="alignnone" width="1200"]
पत्रकार सम्मेलन गरी जानकारी दिदै । तस्बिरः भोजराज श्रेष्ठ[/caption]
नगरले सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला समितिलाई मेयर पदको लागि एकमात्रै उम्मेद्वारको नाम पठाएको छ । जिल्ला समितिमा नाम पठाएसगै माओवादी केन्द्रबाट बेघा नै मेयर पदमा चुनाव लड्ने भएका छन् । उनी पार्टीका नगर इन्चार्जसमेत हुन् ।
[caption id="attachment_41056" align="alignnone" width="1200"]
मेयरका उम्मेद्वार[/caption]
मेयरको लागि एकमहिना अघिदेखि नै पार्टी केन्द्रमासमेत धाउन थालेका बेघालाई पार्टी नगरले सर्वसम्मत ढङ्गले मेयर पदको लागि उम्मेद्वारी दिएको नगर संयोजक चोत्लुङले पत्रकार सम्मेलनमा बताए । ‘धरान उपमहानगरपालिकाको प्रमुख पदको उम्मेद्वारीका लागि बेघाको नाम सर्वसम्मतले जिल्ला समितिमा सिफारिस गरिएको छ ।’ चोत्लुङले भने ।
त्यस्तै उपमेयर पदमा चारजनाको नाम जिल्ला समितिलाई सिफारिस गरेको छ । नगरले चेतना श्रेङ, कमला राई, लक्ष्मी प्रधान र गंगा पौडेल बरालको नाम सिफारिस गरेको हो । जसमध्ये एकलाई उममेयरको लागि छनौट गरिने बताइएको छ । उक्त नामहरु अनुमोदनको लागि जिल्लामा पठाइएको हो ।
वडाको पनि सिफारिस
पार्टी नगर कमिटीले धरानका २० वटै वडाहरुमा वडा अध्यक्षहरुको नाम सार्वजनिक गरेको छ । १ देखि २० नम्बरसम्मका लागि क्रमशः चन्द्रप्रसाद बजगाई, रमेश राई, सर्वजीत राई, चन्द्रबहादुर कुलुङ, धनकुमार राई, धनबहादुर तामाङ, धनकुमार कन्दङ्वा, झमक मगर, विजय पौडेल, नरबहादुर लिम्बू, कमला राई, भुवन हाङनाम, लेखराज श्रेष्ठ, सुरेन्द्र गौतम, दिलबहादुर रामदाम, हिमाल कार्की, सूर्यबहादुर भट्टराई (मनोज), मानबहादुर राई, सन्त तेम्बे र सम्फर तामाङलाई वडा अध्यक्षमा सिफारिस गरेको छ ।
बिकासे कार्यक्रम पनि सार्वजनिक
मेयर, उपमेयर पदसगै वडा अध्यक्षहरुको नाम सिफारिस गरेसँगै नगरले २९ बुँदे बिकासे कार्यक्रमसमेत सार्वजनिक गरेको छ । ‘माओवादी केन्द्रको अभियान, एक नम्बर प्रदेशको राजधानी धरान’ लगायतका विकासे कार्यक्रम अघि सार्दै धरान नगरमा माओवादी केन्द्रले गतिलो उपस्थिति जनाउन खोजेको छ ।
माओवादी केन्द्रले धरानको खानेपानी समस्या समाधान, धरान विमानस्थललाई पूर्णता, क्षेत्रीय रङशाला, सेउती, सर्दु र सेरा नदीहरुको तटबन्धसहित पुल निर्माण, रिङरोड, बसपार्क लगायतको बिकासे कार्यक्रम अघि सारेको छ । त्यस्तै सुकुम्बासीहरुलाई विजुली पानीलगायतको सुविधा प्रदान गर्ने मेयरका उम्मेद्वार बेघाले बताए ।
उनले धरानको सबै परिवारलाई मासिक १० हजार लिटर पानी र १० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने बताए । धरानको खानेपानी आयोजना पूरा गर्दै वोर्डलाई नगर सरकार मातहत ल्याउदै नगर विकास कोषबाट लिइएको ऋणलाई मिनाहाको लागि पहल गर्ने दाबी गरेको छ । धरानमा लागू भएको एकिकृत सम्पत्ती करको अव्यबहारिक तथा अवैज्ञानिक बुँदाहरु खारेज गरिने र जनमत अनुसार बैज्ञानिक कर प्रणाली लागू गर्ने बताएको छ ।
विजयपुर क्षेत्र विकास कोष गठन गरिने र एतिहासिक दरबार क्षेत्र तथा धार्मिक क्षेत्रको घोषणा गर्दै संरक्षणमा पहल गर्ने बताएको छ । त्यस्तै भारतीय सीमा नाका जोगवनीदेखि धरानसम्म रेल्वे विस्तार गर्न पहल गर्ने उनले बताए । धरानलाई शिक्षा स्वास्थ्य र पर्यटनको केन्द्र बनाउदै कला एकेडेमी बनाउनको लागि कार्यदल गठन लगायतका २९ बुँदामा बिकासे कार्यक्रम गर्ने प्रतिवद्धता जनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय, जिल्ला तथा स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।
धरान उपमहानगरपालिका निर्वाचन परिचालन समिति गठन
स्थानीय तहको चुनावलाई केन्द्रीत गर्दै पार्टी नगरले धरान उपमहानगरपालिका निर्वाचन परिचालन समिति गठन गरेको छ । जसको संयोजकमा पार्टी पोलिटब्युरो सदस्य मुक्सामहाङ मेन्याङ्बोलाई तोकिएको छ । त्यसको सह संयोजकहरुमा आइन्द्रबिक्रम बेघा, उमिता बराइली, नुलम राई, अशोक राई, चोत्लुङ, सावित्रा चौलागाई, प्रतापप्रकाश ल्वागुन, र दिलबहादुर रामदान रहेका छन् ।
जसको सचिवालय समितिको संयोजकमा पनि मेन्याङ्बोलाई नै अधिकार प्रदान गरिएको छ । त्यस्तै विभिन्न उपसमितिहरुसमेत गठन गरेको छ । पार्टीले चुनावलाई लक्षित गर्दै आर्थिक, प्रचार, युवा परिचालन, कानुनी परामर्श, वार्ता, सामाजिक परिचालन, अनुगमन तथा अनुशासन, मजदुर, साँस्कृतिक, बुद्धिजिवी, सुकुम्बासी, शिक्षक तथा कर्मचारी, घोषणा, पूर्व जनमुक्ति सेना परिचालन, घाइते अपाङ परिचालन, जातीय मोर्चा, जवस, जेष्ठ नागरिक र उद्योग ब्यापार परिचालन उपसमितिहरु गठन गरेको छ ।