पाँचथर/ स्थानीय निकायमा झन्डै दुई दशक सम्म जनप्रतिनिधि बीहिनताको अवस्थालाई अन्त्य गर्न सरकारले वैशाख ३१ गते स्थानीय तह निर्बाचनको मिति तय गरेपछि गाउँ–गाउँमा निर्बाचनको माहौल सिर्जना भएको छ ।

दलहरु निर्बाचनको नतिजा आफ्नो पक्षमा पार्न कसरतमा जुटेका छन् । लामो समय पछि स्थानीय निर्बाचन हुने भएपछि नागरिक समेत जनप्रतिनिधि छान्न आतुर छन् ।

गाउँमा निर्बाचनको माहौल बनेसँगै जिल्लाको फालेलुङ गाउँपालिका–६, मा भने एउटै परिवारका तीन जना प्रमुख दलको मूख्य उम्मेद्वार बनेका छन् ।

फालेलुङ गाउँपालिका–६, मा वडापालिका अध्यक्षका लागि नेपाली काँग्रेसबाट दीपक राई, नेकपा एमालेबाट सुजता राई र माओवादी केन्द्रबाट महेन्द्रबीर राई (मनजीत) लाई पार्टीले उम्मेद्वार बनाएको छ । स्थानीय दबाइपानी गाउँका उनीहरु एउटै दाजुभाई परिवारका सदस्य हुन् ।

नेपाली काँग्रेसबाट वडापालिका अध्यक्षको उम्मेद्वार बनेका दीपकले भने– ‘पार्टीले विश्वास गरेर हामी उउटै टोलका एउटै परिवारका सदस्यलाई मूख्य उम्मेद्वार बनाएको छ, हामी जीत र हार भन्दा पनि जनताको मतको सम्मान गर्नेछौं ।’ तीनै जना उम्मेद्वारले जीत र हार भन्दा पनि पार्टीले दिएको जिम्मेवारीलाई इमानदारपूर्वक पूरा गर्ने बताएका छन् ।

गाउँको विकास र समृद्धि जनताको मूख्य अपेक्षा भएकाले यसैलाई एजेन्डा बनाएर आफूहरु चुनावमा जाने तीनै जना उम्मेद्वारले बताएका छन् । नेकपा एमालेबाट उम्मेद्वार बनेका सुजताले भनिन् ‘यसले हाम्रो पारिवारिक सौहार्दतामा कुनै किसिमको बिचलन ल्याउँदैन, हामी आफ्नो पार्टीको एजेन्डालाई लिएर स्वच्छ प्रतिश्पर्धा गर्छौं ।’

जिल्लाको दुर्गम क्षेत्र मानिएको सो वडामा स्थानीयले स्वास्थ्य, शिक्षा, यातायात जस्ता सेवाहरु सहज रुपमा प्राप्त गर्ने आसा र अपेक्षा गरेका छन् । जसले जीते पनि जनताको त्यो अपेक्षालाई पूरा गर्नुपर्ने माओवादी केन्द्रबाट उम्मेद्वार बनेका महेन्द्रवीरले बताए ।