हाल तपाई के गरिरहनुभएको छ ?

–अर्को एल्बमकाे तयारीमा छु । रेकर्डिङ भैरहेको छ । मेलिना राईसँग भर्खरै गहुँबारीमा माया बोलको ठट्यौली लोकगीत रेकर्ड गराएर आएको छु । त्योभन्दा पहिले मिलन अमात्य दिदीसँग घाम दियौ कि छायाँ दियौ बोलको आधुनिक गीत रेकर्ड गराएको थिएँ । त्यसको म्युजिक भिडियो पनि बनिसकेको छ । अब बजारमा ल्याउन बाँकी छ । मेरो पेसा त छँदै छ, बाँकी समय संगीतमै व्यस्त छु ।

पेसाले इञ्जिनियर गायनतिर व्यस्त हुनुहुन्छ । भविष्यमा केमा जम्ने विचार राख्नुभएको छ ?

–दुवैतिर समय दिएर जानुपर्ने अवस्था छ । देशमा स्थिरता नभएको समयमा भोलि म कुन क्षेत्रमा स्थिर रहुँला भन्ने कुराको टुङ्गो छैन । मैले रोज्नै पर्ने अवस्था आएछ भने म संगीत नै रोज्नेछु ।

तपार्इं जस्तै अन्य नवगायकहरु आफूलाई संगीतमा टिकाउन कसरत गरिरहेका छन् । तपाईको प्रयास के छ ?

–संगीतप्रति धेरै नै मोह छ । यसलाई निरन्तरता दिनका लागि अर्थको ठूलो भूमिका छ । संगीतलाई कसरी टिकाउने भन्नेतिर मेरो सोचाइ बढी छ ।

कस्तो गीत गाउन रुचाउनु हुन्छ ?

–मैले सबैखाले गीत गाउने गरेको छु । तर म आधुनिक र सामाजिक सन्देश दिने गीत बढी गाउन रुचाउँछु ।

संगीतमा आफूले आफैलाई परीक्षण गर्दा कुन श्रेणीमा पाउनुहुन्छ ?

–श्रेणीमाभन्दा पनि अहिलेको समयमा गीत सिक्ने क्रममा छु । सिकाइको पहिलो श्रेणीमा छु भन्दा ठीक होला ।

तपाँईको विचारमा संगीत के हो ?

–मनको सन्तुष्टि, मनको साथी र समाजलाई प्रत्यक्ष परिवर्तन गर्ने माध्यम नै संगीत हो ।

तपाईको अबको नयाँ योजना के छ ?

–एल्बम त छँदै छ । फुट्कर गीतहरु पनि रेकर्डिङ गर्ने योजनामा छु । संगीतलाई सहयोगी मेरो पेसा छँदै छ ।

गायिका मेलिना राईसँग गीत मिलेर गाउनुभएको छ कस्तो लाग्यो ?

–वहाँहरु भनेको प्रोफेसनल सिङ्गर हो । त्यो लेवलको गायिकासँग गीत गाउन पाउँदा गर्वको महसुस भएको छ । त्योभन्दा पहिले अञ्जु दिदीसँग गाउँदा चाहिँ एकदमै डर लागेको थियो ।

मेलिना राईसँग संगीतमा जोडी जम्ला त ?

–प्रोफेसनल्ली त अहिलेको अवस्थामा भन्न गाह्रो छ । दुई– चारवर्ष अझै लाग्छ ।

हामी साथी साथी समूहमा पनि हुनुहुन्छ, यो समूहले के गरिरहेको छ ?

–हामी साथी साथी धरानका युवाहरुको एउटा समूह हो । पत्रकार गोपाल दाहाल, ब्याङ्कर पुष्कर ताम्राकार, रामनारायण साह, मणि भुजेल लगायतका युवाहरु मिलेर सामाजिक सेवाको भावले एकसाथ अघि बढिरहेका छौं । यो नयाँ शैक्षिक सत्रमा आर्थिक अवस्था कमजोर भएका र आमा बुबा नभएका बालबालिकालाई छात्रवृत्ति दिनेछौं ।