काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको थाइल्याण्डमा हर्नियाको शल्यक्रिया भएको छ। बैंककस्थित समितिभेज अस्पतालमा बुधबार उनको सफल शल्यक्रिया गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए।
‘उहाँको थाइल्यान्डका (बुधबार) हर्नियाको अपरेशन भएको छ,’ श्रेष्ठले भने, ‘अहिले बैंककमै आराम गरिरहनु भएको छ।’
नियमिति स्वास्थ्य परीक्षणका लागि भन्दै पूर्व प्रधानमन्त्री ओली शनिबार बैंकक गएका थिए। शल्यक्रिया गरेपछि ओलीको थाइल्यान्ड बसाई लम्बिने भएको छ। ‘अध्यक्ष ओली ढिलोमा बैशाख ६ गतेसम्ममा स्वदेश फर्किनु हुनेछ’ श्रेष्ठले भने।
एक साता स्वास्थ्य परीक्षण गरेर ओली शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको थियो। अपरेसनपछि अाराम गर्नुपर्ने भएपछि उनको बैंकक बसाइ केही लम्बिने भएको हो। मृगौला प्रत्यारोपण गरेको ओलीले ६–६ महिनामा स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।
































