धरान/चुनाव चिन्ह माग गर्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको अगुवाईमा ६८ वटा दलले आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै ६८ दलीय मोर्चाले बैसाख २ गतेदेखि ८ गतेसम्म रिले अनसन बस्ने तयारी गरेको छ । काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा रिले अनसन बस्ने घोषणा गरेको हो । बैसाख २ गतेबाटै ६८ दलका शिर्षस्थ नेताहरु अनसनमा बस्ने तयारी गरेका छन् ।
आवश्यकता अनुसार रिले अनसन परिवर्तन हुदै प्रधानमन्त्री निवास, संसद भवनलगायतको घेराउ कार्यक्रमसम्म गर्ने तयारी भएको बताइएको छ । यो नेतृत्वले निर्वाचन शिक्षालगायत चुनावी कार्यक्रम अवरोध गर्ने तयारीसमेत गरेको छ ।
पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नियोजित ढंगले संसदमा भएका दलहरुलाई मात्र चुनाव चिन्ह दिने गरी ऐन ल्याइएको दाबी गरे । भट्टराईले हिम्मत भए संसद विघटन गर्न र प्रतिनिधिसभाको चुनाव गर्न चुनौती दिएका छन् ।