धरान / सरकारले चोर बाटोबाट सवारी ऐन संशोधन गरेर चालकहरूलाई जन्मकैद सजाय हुने प्रावधान ल्याउन लागेको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आपत्ति जनाएको छ । इटहरीमा शनिबार आयोजित टेम्पो तथा म्याजिक मजदुरहरूको भेलालाई सम्बोधन गर्दै सङ्गठनका नेताहरूले जस्तोसुकै दुर्घटनामा पनि कसैको ज्यान गए चालकलाई जन्मकैद हुने कानून ल्याए त्यसको प्रतिवाद गरिने चेतावनी दिए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनकै क्रममा रहेको अवस्थामा सरकारले चोरबाटोबाट ऐनको दफा १६१ मा रहेको ज्यान मरेमा हुने सजायलाई मात्र अर्कै विधेयकबाट संशोधन गरी चालकलाई फँसाउने षड्यन्त्र गरेको सङ्गठनका महासचिव भीम राई ज्वालाले बताए । सरकारलाई लिखित सुझाव दिइसकिएको र सांसदहरूमार्फत् संशोधनको प्रस्तावसमेत दर्ता गरिसकिएकाले सुझावहरू समावेश नगरी कानून ल्याइए कानूनको प्रति जलाएर देशभरिका यातायात मजदुर सडकमा उत्रिने राईले बताए । भेलालाई केन्द्रीय उपाध्यक्ष भक्त लामा, केन्द्रीय सचिव सन्तोष खड्का, कोशी अञ्चल उपाध्यक्ष गौरी लामालगायतले सम्बोधन गरेका थिए । इटहरीलाई कार्यक्षेत्र बनाएर काम गर्ने टेम्पो तथा म्याजिक भ्यानका मजदुरहरूको भेलाले गणेश साहको अध्यक्षतामा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन टेम्पो म्याजिक इकाई कमिटी गठन गरेको छ । तालतलैयामा शनिबार सम्पन्न भेलाले कमिटीका उपाध्यक्षमा दीपक खड्का, सचिव लक्ष्मीप्रसाद घिमिरे र कोषाध्यक्षमा आत्मराम चौधरीलाई चयन गरेको छ । सदस्यहरूमा जितबहादुर कार्की, तिलकबहादुर कार्की, पुन्टुलाल चौधरी, बिर्खराज श्रेष्ठ, सन्तोष काप्mले, हरिहर महतो र जवाहर साह छन् ।