इटहरी । इटहरीमा विद्युतीय रिक्सा व्यवस्थापनको पहल भएको छ । ट्राफिक व्यवस्थापनमा समस्या बन्दै गएपछि इटहरीमा सञ्चालित विद्युतीय रिक्सा व्यवस्थापन गरिने भएको हो ।
मुख्य लोकमार्गमा विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइनुका साथै आवश्यक कारवाही र आवश्यक सहयोगसमेत गर्ने निर्णय नागरिक समाज इटहरीको अगुवाइमा भएको बैठकले गरेको छ । निर्णयअनुसार आगामी वैशाख १ गतेदेखि तोकिएको रुटमा मात्र विद्युतीय रिक्सा सञ्चालन गर्नुपर्ने छ । इटहरी उमनपाका प्रतिनिधिसहितको बैठकले इटहरीमा दर्ता भएका रिक्सा मात्र यहाँ सञ्चालन गर्न पाइने निर्णय पनि गरेको छ ।
चालक अनुमतिपत्रको प्रक्रिया सहज बनाउन र आवश्यक कागजातमा कडाइ गर्न सम्बन्धित निकाय र ट्राफिक प्रहरीलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । तोकिएका स्थानमा मात्र स्ट्यान्ड लगाउने पाइने र नयाँ दर्ता प्रक्रिया बन्द गर्न पहल गर्ने निर्णय पनि गरिएको छ । निर्णय कार्यान्वयनका लागि उमनपाले प्रचार–प्रसार र व्यवस्थापन गर्ने तथा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट कानूनी कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय समेत भएको नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौडेलले बताए ।
बैठकमा इटहरी उमनपाका कार्यकारी अधिकृत टीकादत्त राई, वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहाल, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार विष्ट, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका सौरव राना, इलाका प्रहरी कार्यालयका डीएसपी नरेशराज सुवेदीलगायत, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि र विद्युतीय रिक्सा सञ्चालकहरूसमेत सहभागी थिए ।
छ महिनाअघि पूर्वका सबै शहरका मुख्य लोकमार्गमा विद्युतीय रिक्सालाई रोक लगाएर तोकिएको रुटमा सञ्चालन गराउन क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले मातहतका कार्यालयलाई निर्देशन दिए पनि कार्यान्वयन भएको छैन । सुविधा भए पनि अव्यवस्थित सञ्चालनले दुर्घटनालगायतका मानवीय जोखिम बढेको भन्दै पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, सुनसरी जिल्ला प्रशासन कार्यालयसहित निकायले विद्युतीय रिक्सालाई मुख्य लोकमार्गमा रोक लगाउने निर्णय गरेका थिए । रिक्सा सञ्चालकहरूले भने मुख्य लोकमार्गमा विद्युतीय रिक्सा सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । त्यस बेला चाडबाडको मुखमा व्यवस्थापनमा समस्या भएको भन्दै छठ पर्वपछि व्यवस्थित गरिने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको थियो । तर, अहिले बल्ल नागरिक समाजको अगुवाइमा व्यवस्थापनको पहल थालिएको हो ।
मानिसलाई छोटो दुरीको आउजाउमा सहज बनाएको विद्युतीय रिक्सा बाक्लिएपछि जोखिम समेत बढेको छ । अधिकांश चालकसँग अनुमतिपत्रसमेत छैन । यातायात व्यवस्था विभागले नियमित अनुमतिपत्र वितरण नगर्दा व्यवसायीसमेत समस्यामा परेका छन् । क्षमता र आवश्यकताभन्दा बढी भित्रिएका रिक्साका कारण सडक जाम पनि बढ््दो रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विद्युतीय रिक्सा व्यवस्थापन नहुँदा मानवीय सुविधासँगै जोखिम पनि बढ्दै गएको छ ।