जाजरकोट/गएको १५ गते हत्या गरिएका नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा पाँच तारा युवा संरक्षक मञ्चका अध्यक्ष रविन्द्र शाहको हत्याको खुलासा मंगलबार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले मंगलबार दिउँसो नेपाल कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले शाहको हत्या गरेको जनाएको छ । प्रहरीका अनुसार चन्दा नदिएको भन्दै विप्लवका कार्यकर्ताले शाहको हत्या गरेका हुन् । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न भनिएका दुईजनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न मध्येका शिव भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनाको योजनाकार तथा संलग्न भनिएका ति दुवै जनाले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न देखिएका पौरख भनिने बलबहादुर मल्ल, इतिहास भनिने प्रेम वली, मोहित सिंह भनिने ईन्द्र शाही, अभिषेक भनिने दिर्घबहादुर नेपाली र नाम खुल्न नसकेका सुर्खेत घर भएका विप्लव कार्यकर्ताको खोजी भैरहेको भेरी अञ्चल प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिए । घटनामा संलग्नको भएको आरोपमा पक्राउ परेका र हत्या गरि फरार रहेका सबै विप्लव कार्यकर्ता भएको शाहले जानकारी दिए ।

यस्तो छ हत्याको कारण भेरी अञ्चल प्रमुख एसएसपी महेशविक्रम शाहका अनुसार विप्लव समूहका कार्यकर्तालाई चन्दा तथा सहयोग गर्न अस्वीकार गर्नु पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्षसमेत रहेका शाहसँग गएको पुसमा संस्थाको खलंगा स्थित मुख्य कार्यालयमै चन्दाको विषयमा विप्लव कार्यकर्तासँग हात हालाहाल भएको, केही महिना अघि ढिमेमा सिँचाइ कुलो निर्माण ठेक्कामा बलबहादुर मल्ल पौरखसँग सहमति भए अनुरुप दिनु पर्ने झण्डै ५ लाख रुपैयाँ नदिएको, मृतकको बलियो राजनीतिक पहुँच रहनु, ठेक्कामा निजको बर्चश्व बढ्दै जानु लगायतका कारण हत्याको योजना बुनिएको हो ।

‘हत्या काण्ड पार्टीगत निर्णय नभएर विभिन्न घटनाक्रमसँग जोडिएका ब्यक्तिहरुले नितान्त ब्यक्तिगत रिसइवी साँध्न गरिएको देखिन्छ’ अञ्चल प्रमुख शाहले भन्नु भयो, ‘हत्यामा संलग्नलाई छिटै पक्राउ गर्छौं । अपराधी उम्किन पाउँदैनन् । घटना सुनियोजित, योजनाबद्ध , रिसइवी साँध्न, चन्दा र आर्थिकलेनदेनका कारण घटेको देखिन्छ । हत्यारालाई पक्रन देशभर प्रहरी परिचालन गरिसेका छौँ ।’ उस्तै परे रेडकर्नर नोटिस समेत जारी गरेर ईन्टरपोलमा समेत राख्ने तयारी भैरहेको एसएसपी शाहले भने ।

गएको चैत्र १५ गते जाजरकोट सदरमुकाम खलंगामा रविन्द्र शाहको हत्या भएको थियो । आधा दर्जन आइएनजिओको सहयोगमा विभिन्न कार्यक्रम संचालन गरिरहेको संस्थामा एक सय तीस बढी कर्मचारी कार्यरत छन् ।  रविन्द्र हत्या काण्डमा आरोपित नेपाल कम्युनिष्ट पार्टी विप्लवका कार्यकर्ता रहेको प्रहरीले सार्वजनिक गरे पनि नेपाल कम्युनिष्ट पार्टी जाजरकोटले कुनै प्रतिक्रिया दिएको छैन ।