चतरा / खोटाङ, भोजपुर, धनकुटा, उदयपुरहँुदै सुनसरीको चतरा–बराहक्षेत्रसम्मको जलयात्रा पाँच हजार रुपैयाँमै गर्न सकिने भएको छ । यसको लागि दर्ता प्रक्रिया पूरा गरिसकेको र ५ लाखको बिमा समेत रहेको बराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिले जनाएको छ । यो सेवा चैत १ गतेदेखि सञ्चालनमा ल्याइएको प्रालिले जनाएको छ । खोटाङ जिल्लाको रानीटारबाट अन्य जिल्लामा ओट लगाउँदै ७ घण्टामा चतरा आइपुग्ने गरी ¥याफ्टिङ सेवा प्रदान गरिने प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक सन्तोष भण्डारीले बताए । उनका अनुसार एकै दिनमा ४० जना सम्मको प्याकेज तयार गर्न सकिन्छ । उनले भने, ‘एउटा ¥याफ्टिङ बोटमा १० जनाको क्षमता हुन्छ, तर चालक र सहचालक दुईजना हुने भएकोले एउटा बोटमा ८ जनाको प्याकेज मात्र हुन्छ । हामीसँग अहिले ५ वटा ¥याफ्टिङ बोट भएकोले एकै दिनमा ४० जनाको लागि पनि प्याकेज बनाउन सक्छौं’, उनले भने । क्याम्प फाइरिङ, बार्बी क्यु, खेलकुद, म्युजिक, फुड अनलिमिटेड, जङ्गल सफारी र अन्य प्याकेजको व्यवस्था समेत गर्न सकिने प्रालिका सदस्य अमित भगतले बताए ।