डब्लुडब्लुइका समर्थकका लागि सबैभन्दा ठूलो निरासाको दिन त्यतिबेला भयो, जब ख्याती प्राप्त रेस्लर अन्डरटेकरले पराजय भोगेपछि रिङबाट बिदा लिए।
करिब दुई दशक रेस्लिङमा आफ्नो धाक जमाएका डेडम्यानको उपनामले चर्चित अन्डरटेकरले युवा तथा किशोरहरुमा लोकप्रिय खेलबाट सन्यास लिएका छन्। उनले रेसलमेनिया ३३ को खतरनाक भिडन्तको फाइनलमा रोमन रेन्सबाट पराजय भोगेलगत्तै रिङमा आफ्नो सन्यासको घोषणा गरे।
यतिबेला उनको खेल हेर्न पुगेका सबै समर्थक निरास देखिन्थे। उनले आफ्नो ग्लोब्स, टोपी र लामो कोटलाई रिङको बीचमा छोडेर अनौठो किसिमले यस खेलबाट बिदा लिए।
उनलाई रेन्सले स्पियर र सुपरम्यान पञ्च हिर्काएर पराजित गरेका थिए। अन्डरटेकरको रेस्लिङमा यो दोस्रो पराजय थियो। उनले २३ खेल जितेका थिए। अन्डरटेकरलाई रेसलमेनिया ३० मा ब्राङ्क लेस्नरले पहिलो पल्ट हराएका थिए।
५२ वर्षीय अमेरिकी रेस्लर सन् १९८४ देखि रेस्लिङमा सक्रिय थिए। ६ फिट १० इन्च अग्ला अन्डरटेकरको तौल १ सय ४० केजी छ। उनको वास्तविक नाम मार्क विलियम कालावे हो।