पथरी/ किरात याक्थुङ चुम्लुङको सातौँ मोरङ जिल्ला सम्मेलनबाट अध्यक्षमा विवेक लिम्बू सर्वसम्मतिले चयन भएका छन् । पथरीशनिश्चरे नगरपालिकास्थित सिरिजङ्गा धार्मिक वनको कार्यालयमा चैत १८ र १९ गते भएको सम्मेलनले उपाध्यक्षमा विमला पालुङ्वा, सचिवमा योबाहा तुम्बाहाङ्फे, सहसचिवमा कविता लिम्बू र कोषाध्यक्षमा सञ्जु सिङ्गकलाई सर्वसम्मत रूपमा चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा नरबहादुर तुङ्बाहाम्फे, डम्बर कुरुम्बाङ, सन्तोष सेरेङ, जीवनकुमार इङ्नाम, दिलबहादुर थेबे, ललित बेघा, अरुणा लिम्बू, चक्रबहादुर हुक्पाचोङ्बाङ र बमबहादुर हुक्पाचोङ्बाङ चयन भएका छन् । चुम्लुङका केन्द्रीय सचिव ध्रुव मेन्याङ्बोको प्रमुख आतिथ्यमा भएको सम्मेलनले सूर्यमान सेरेङ र फिपराज बेघालाई केन्द्रीय प्रतिनिधि चयन गरेको चुम्लुङले जनाएको छ । सम्मेलनमा मोरङमा रहेका २२ वटा गाउँसमितिबाट १५० प्रतिनिधि सहभागी भएको नवनिर्वाचित अध्यक्ष लिम्बूले बताए । अध्यक्ष लिम्बूले नयाँ समितिले लिम्बूवान प्राप्ति, समुदायको सशक्तीकरण र जिल्ला समितिको भवन निर्माणका लागि पहल गर्ने बताए ।