भीमदत्तनगर/ जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहको निर्वाचनमा मतदान गर्ने मतदाताको ज्ञानका लागि यहाँका प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षक खटाउने तयारी गरेको छ ।

जिल्ला निर्वाचन अधिकृत केशवसिंह भण्डारीले कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिमा दुई सय ८७ जना मतदाता शिक्षक खटाउने जानकारी दिए ।

मतदाता शिक्षकले मतदातालाई मतपत्र चिह्न, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम, मतपत्र पट्याउने लगायतका विषयमा जानकारी गराउने निर्वाचन अधिकृत भण्डारीले बताए । “अहिले मतदाता शिक्षक छनोट कार्य भइरहेको छ,” उनले भने – “वैशाखको पहिलो साताभित्रै प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षक परिचालन गरिसक्छौँ ।”

नगरपालिकाका सामाजिक परिचालक, महिला स्वयम्सेवक, विद्यालयका पूर्वशिक्षक÷शिक्षिकालाई मतदाता शिक्षकमा छनोट गरी प्रशिक्षण पछि कार्यस्थलमा खटाइनेछ ।

त्यसैगरी, निर्वाचनका लागि यहाँका नगरपालिका र गाउँपालिकामा गरी नौवटा निर्वाचन कार्यालय स्थापना गर्ने तयारीसमेत भइरहेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । “स्थानीय तह निर्वाचन कार्यालयका लागि नौजना निर्वाचन अधिकृत खटाइनेछ,” निर्वाचन अधिकृत भण्डारीले भने – “निर्वाचन अधिकृत निर्वाचन आयोगले केन्द्रबाट परिचालन गर्नेछ ।”

दुई लाख ३० हजार मतदाता रहेको कञ्चनपुरमा सबैभन्दा बढी करिब एक लाखभन्दा बढी मतदाता भीमदत्तनगरपालिकामा रहेका छन् ।