धरान /पार्टीको केन्द्र तहबाट निर्णय नभए पनि धरानमा मेयर–उपमेयरका प्रबल दाबेदारहरूको चर्चा चल्न थालेको छ ।
कतिपय साना पार्टीका नेताहरूले भने सामाजिक सञ्जालमार्फत् आफ्नो दाबेदारी प्रस्तुत गर्दै विकासे नारासमेत फ्याँकिरहेका छन् । सत्ताधारी काङ्ग्रेस–माओवादी केन्द्र र प्रतिपक्षी एमालेका साथै साना दलहरूमा समेत मेयर–उपमेयरका आकाङ्क्षी धेरै भए पनि पार्टीबाट अन्तिम टुङ्गो लाग्ने नामहरू बजारमा आइरहेका छन् । काङ्ग्रेसबाट नगर सभापति तिलक राई र पूर्वसभापति किशोर राईमध्ये एक हुने कार्यकर्ताको दाबी छ । त्यसमा पनि किशोर नै प्रबल दाबेदार भएको कार्यकर्ताहरू ठोकुवा गरिरहेका छन् । पार्टीको एक आन्तरिक स्रोतले भने दुवैलाई नदिई तेस्रो व्यक्तिलाई टिकट दिएर बीचको बाटो खोज्न केन्द्रीय नेताहरू सक्रिय भएको बताएको छ ।
काङ्ग्रेसका नगर सभापति तिलक भन्छन्, ‘आकाङ्क्षीभन्दा पनि मेयरमा मेरो दाबी हो ।’ उपमेयरका लागि काङ्ग्रेसबाट पूर्व महासमिति सदस्य श्यामा रेग्मीको नाममा अन्तिम टुङ्गो लाग्ने बताइन्छ । काङ्ग्रेसले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूमा उम्मेदवार छनोटका लागि मापदण्ड बनाइसकेको छ ।
त्यस्तै प्रतिपक्षी एमालेबाट तारा सुब्बा नै मेयरमा अन्तिम टुङ्गो लाग्ने नाम रहेको बताइन्छ । त्यस्तै उपमेयरहरूमा जिल्ला सहसचिव मञ्जु भण्डारी र संविधानसभाकी समानुपातिक उम्मेदवार सावित्री श्रेष्ठका नाम आइरहेका छन् । ‘यिनै तीनजनाको नाम केन्द्रमा पठाउने तयारी भइरहेको छ ।’ एक नेताले भने । विद्यार्थी सङ्गठन अखिलबाट राजनीति प्रारम्भ गरेका तारा र मञ्जुको अन्तिम टुङ्गो लाग्न सक्ने बताइन्छ । त्यसो त, विजय राईको नाममा पनि आइरहेको छ । उनी पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालका स्वकीय सचिवसमेत रहिसकेकाले उनी पनि लाइनमा रहेको बताइन्छ ।
तर, पार्टी कार्यकर्ताहरूको चाहना भने तारा नै होस् भन्ने देखिएको छ । माओवादी केन्द्रमा पनि अन्तिम टुङ्गो लाग्ने नाम अइन्द्र बेघा रहेको बताइन्छ । उनी मेयरको टिकटका लागि केन्द्रमा धाइरहेका छन् । त्यस्तै मेयरकै दाबेदार भूमिका चौलागाईं उपमेयरमा जानसक्ने सम्भावना देखिएको छ । पार्टीले अइन्द्रलाई मेयरको टिकट दिएमा उपमेयरमा महिला अनिवार्य भएकाले भूमिका जानसक्ने सम्भावना देखिएको छ । तर, उपमेयरका लागि चेतना श्रेङको नाम पनि अग्रपङ्क्तिमै छ ।
अइन्द्रले छाडेमा भूमिका मेयरको उम्मेदवार हु“दा उपमेयरमा भने अर्को व्यक्ति आउने सम्भावना प्रबल रहन्छ । पार्टीले अइन्द्रलाई मेयरको टिकट दिइसकेको हल्लासमेत छ । तर, पार्टीका नगर संयोजक चोत्लुङले भने त्यस्तो नभएको बताए । ‘जसले भन्यो उसैलाई थाहा होला, तर पार्टीबाट आधिकारिक रूपमा निर्णय भएको छैन ।’ उनले भेटमा भने ।
सङ्घीय समाजवादी फोरमबाट नगर अध्यक्ष पारस काङमाङ राई मेयरका आकाङ्क्षी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा विकासे नारासमेत सार्वजनिक गरिसकेका छन् । पार्टीको केन्द्रीय नीति चुनावमा जाने–नजाने अन्योलमै रहे पनि पारसले भने केही सहमतिपछि पार्टी चुनावमा जाने दाबी गरे । फोरमबाट उपमेयरका लागि नगर उपाध्यक्ष बिना पुमा राई र पूर्व जिल्ला सदस्य ऐसा सुनुवारमध्ये एक हुने निश्चित छ । ‘महिलामा त विवाद छैन । दुईमध्ये एक हुने हो ।’ काङमाङले भने ।