भद्रपुर/वन समितिका केही पदाधिकारीले गोलिया दाउरा भन्दै काठ बिक्री गरेको घटना सार्वजनिक भएलगतै जिल्ला वन कार्यालय झापाले छानविन समिति गठन गरेको छ ।

झापाको भद्रपुर स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले बिक्री समितिका केहि सदस्यलाई जानकारी नदिई गोलियालाई दाउराको रुपमा बिक्री गरेको विषयमा ब्लाष्ट दैनिकमा समाचार सार्वजानिक भएपछि वन कार्यालयले समिति माथि छानविन गर्न समिति गठन गरेको हो ।सेक्टर वन कार्यालय जलथलका प्रमुख कमलदेव चौधरी र निचाझोडा रेञ्जर पोष्टका राजन राईलाई छानविन समितिमा राखिएको वन कार्यालयले जनाएको छ ।

छानविनको लागी खटिएका राईले समितिलाई लिखित पत्र दिइसकेको बताए । घट्नाको वारेमा समितिले आइतवार सम्ममा प्रतिवेदन छानविन समितिलाई बुझाउने र आफुले सेक्टर वन इन्चार्ज चौधरीलाई बुझाउने उनको भनाई छ ।

प्रमुख जिल्ला वन अधिकृत बोधराज सुवेदीले दिएको जानकारी अनुसार उपभोक्ताको अधिकार बाहिर गएर समितिले बेचेको काठ दाउराको लगत संकलन, बील भौचर र समितिका निर्णय प्रकृया लगायत आवश्यक कागजातको स्थलगत अनुसन्धान गरेर छानविन प्रकृया अगाडी बढाउने अधिकार समितिलाई दिएको बताए । गठित समितिलाई यथाशिघ्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न लिखित आदेश दिइसकेको सुवेदीले बताए ।

छानविनको प्रक्रियामा गलत ठहरीए वन ऐन ०४९ अनुसार कार्वाही गरिने उनको भनाई छ । पछिल्लोपटक घाट गद्दी खाली गर्ने बाहनामा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गा भट्टराईको निर्देशनमा सचिव सन्तोष पोखरेलले दाउरा भन्दै गोलिया काठ स्थानीय व्यापारी राजु खड्का, रत्नबहादुर भण्डारी र गणेश भण्डारी लगायतलाई प्रति चट्टा २५ हजारका दरले विक्री गरेको खुलासा भएको थियो ।

उपभोक्ताले घटनाको बारेमा थाहा पाएपछिमात्र समितिको क्रियाकलापको वारेमा जानकारी पाएका थिए । समाचार सार्वजानिक भएपछि आरोपित व्यत्तिले स्थानीय देखि केन्द्र सम्मका नेतालाई भनेर समाचारको श्रोत दिनेलाई दभाव दिने गरेको पाइएको छ ।

आसन्न निर्वाचनको समयमा उमेद्वारदिन असर पर्ने भन्दै आफुले समाचार नदिएको भन्नलाई निकटका केहि सञ्चारकर्मीलाई समेत हात लिएको बुझिएको छ ।

विभिन्न उपभोक्ता र चन्द्रगढी स्थित विश्रान्ति दाहसंस्कार गृहका लागि सहुलियतमा दाउरा दिएको निर्णय पुस्तिका बनाएर अध्यक्षकै निर्देशनमा सचिव पोखरेलले विक्री गरेको विक्री समितिका सदस्यहरुको भनाइ छ ।

सचिवको संयोजकत्वमा रहेको नौ सदस्यीय बिक्री समिति मध्ये कसैलाई पनि दाउरा व्यापारीलाई बेच्ने निर्णय र बेचिएको थाहा नभएको बिक्री समितिका सदस्य ध्रुव कार्कीले आरोप लगाएका छन् ।

शनिवार दिउँसो चिरानका लागि मिलमा दुई ट्याक्टर काठ झरेपछि मिल धनी शेखर कँडेलले कागज पत्र माग गर्दा काठ ल्याउने व्यक्तिले कागज पत्र देखाउन नसकेपछि घट्ना सार्वजानिक भएको थियो ।

स्थानीय केही उपभोक्ताहरुलाई बोलाएर काठ बारे जानकारी दिएको कँडलको भनाई छ । उपभोक्ताले माग गर्दा ५ कुइण्टल दाउरा नपाउने तर कमिशन दिने व्यापारीहरुलाई कागज मिलाएर कमिशनमा बेच्नेलाई कार्वाही हुनु पर्ने स्थानीय उपभोक्ताको माग छ ।

समितिका सचिव तथा संयोजक पोखरेलले काठ मिलवालाहरुले काठ दाउरा खरिद गर्न नपाएको रिस समितिमा पोख्दा समस्याका रुपमा आएको जवाफ दिएका छन् । उनले समितिले निर्णय गररै दाउरा बेचेको दाबी गरेका छन् ।