फायल फाेटाे[/caption]
काठमाडौँ/पछिल्ला समयमा बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमण बढेको छ । समूहमा आउने जङ्गली हात्तीबाहेक एक्लै हिँड्ने ‘फुच्चे भाले’ हात्तीको आक्रमणबाट बर्दियामा मात्र यो वर्ष छ जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन् ।
हात्तीको आक्रमणबाट निकुञ्ज वरपरका बस्तीमा २२ बिगाहा जमिनको खेतीबाली नष्ट हुनुका साथै ४०० घर भत्केको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए।
समूहमा बस्ने अरु हात्तीसँग हारेपछि ‘फुच्चे भाले’ हात्ती मात्तिएर रिस फेर्न बस्ती आक्रमणमा देखिएको प्रमुख संरक्षण अधिकृत थापाको जिकिर छ । निकुञ्जले हात्तीको आक्रमण रोक्न हाल विद्युतीय तार लगाउनुका साथै परम्परागत उपाय अपनाउँदै आएको छ ।
बर्दिया निकुञ्जमा करिब एकसयको सङ्ख्यामा जङ्गली हात्ती रहेको उनले जानकारी दिए । निकुञ्जले हात्तीको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही रु पाँच लाख राहत र रु ३० हजार किरियाखर्च प्रदान गर्दै आएको छ ।
































