इलाम । इलामको सूर्योदय नगरपालिकास्थित करफोकमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सवमा रु ६० लाख सहयोग सङ्कलन भएको छ ।

महोत्सवमा दाताले रु १० हजारदेखि तीन लाखसम्म दान गरेका थिए । रु एक करोड सङ्कलन गर्ने उद्देश्यले सुरु गरिएको महोत्सवमा सो बराबरको सहयोग भने सङ्कलन नभएको आयोजकका जीवन नेपालले जानकारी दिए । विसं २००७ देखि सुरु भएको करफोकलाई पूर्वकै नमुना शैक्षिकस्थल बनाउने उद्देश्यका साथ गत हप्ता सप्ताहव्यापी करफोक शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवबाट उठेको रकमबाट अत्याधुनिक भवन, सभाहल, खाजा घर, प्रयोगशाला, सङ्गीत प्रशिक्षण केन्द्र स्टुडियो, बगैँचा, पुस्तकालय, खेलमैदान, आकर्षक कक्षाकोठा निर्माण गरिने क्याम्पस प्रमुख जहरसिंह राईले जानकारी दिए । रासस