धनकुटा / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण अयोगले अवैज्ञानिक र अव्यावहारिक रुपमा गरेको भन्दै आगामी चैत्र १० गते विहिवार धनकुटामा दवाव स्वरुप जन प्रदर्शन गर्ने भएको छ ।

[caption id="attachment_34989" align="alignleft" width="598"] फाइल तस्बिर[/caption]

नेपाल आदिवासी जनजाति महासंघ धनकुटाको आज वसेको जिल्ला समन्वय परिषदमा आवद्ध १५ एकल जातिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, भातृसंगठनका प्रमुख एवं प्रतिनिधहरु र जिल्ला समन्वय परिषदका पदाधिकारी एवं सदस्यहरुको संयुक्त वैठकले यस्तो निर्णय गरेको हो । नेपालको संविधानले आदिवासी जनजाति, मधेसी, उत्पीडित वर्गलगायत जनताको पहिचान र अधिकार सुनिश्चित नगरिएको प्रतिगामी संविधान शंसोधन नगरी स्थानिय निकायको निर्वाचन गर्न नहुने भन्दै सरकारलाई दवाव सृजना गर्न जनप्रदर्शनको तयारी गरेको नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले वताएका छन् ।

उनले सदिऔँदेखि उत्पीडन र बहिष्करणमा पारिएका जनताका लागि संविधान विभेदकारी भएकाले संशोधनको अपरिहार्यतालाई स्वीकारेर व्यवस्थापिका–संसदमा संविधान संशोधन प्रस्ताव पेस भइरहे पनि कार्यन्वयन नगरी सरकार निर्वाचन प्रक्रियामा अघि वढेको भन्दै सरकार कदम विरुद्ध आन्दोलन गर्नु परेको वताएका छन् । साथै अध्यक्ष राईले भने “अर्को्तिर, गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या, नामंकन तथा सीमाना निर्धारण अयोगले संविधानको धारा ५६ को उपधारा ४ र ५ तथा धारा २९५ को उपधारा ३ को मूल मर्म बिपरित गैरसंवैधानिक, अवैज्ञानिक र अव्यवहारिक रुपले हतारमा ७४४ को संख्या प्रस्तावित गरिएकोे छ ।”

सो स्थानीय तहको सीमाना र संख्याले आदिवासी जनजातिहरुको पहिचान र अधिकारहरूलाई झन बेवास्ता गर्दै संविधानभन्दा थप पश्चगामी भएर आएकाले यो प्रस्ताव अपुरो, अधुरो र त्रुटिपूर्ण मात्र होइन आदिवासी जनजाति जनजातिहरुमाथि थप विभेदपूर्ण देखिएको ठहर गर्दै महासंघले पटक–पटक सम्बन्धित निकायमा त्रुटी सच्याउन ध्यानाकार्षण गराइएको वताइएको छ । तर, आदिवासी जनजातिहरुको साझा संस्था महासंघले गम्भीरतापूर्वक उठाएको मुद्धालाई बेवास्ता गरी षड्यन्त्रपूर्वक र एकलौटी ढंगले सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेर जवर्जस्त ढंगले अघि वढेको प्रति महासंघले आपत्ति जनाउँदै देशव्यापी आन्दोलनमा उत्रिएको जिल्ला समन्वय परिषदका अध्यक्ष राईले वताएका छन् ।

राईका अनुसार चैत्र १० गते विहिवार मदनचोकमा भेला भएर विभिन्न जातजातिको भेषाभुषा सहित सजिएको ¥याली सहितको झाँकी धनकुटा वजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय धनकुटामा ज्ञापन पत्र वुझाएर पुनः स्थानिय मदनचोकमा कोणसभा आयोजना गर्ने जानकारी दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अधयक्ष संजयसन्तोषी राईको अध्यक्षतमा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा किराँत राई यायोखाका जिल्ला उपाध्यक्ष निर्मल राई, आदिवासी जनजाति अभियान्ता तिलक प्रसाद राई, खड्गी सेवा समाजका प्रतिनिधि एवं नगर समन्वय परिषदका अध्यक्ष रविन खड्गी, झिगु समाज हिलेका सचिव दिजेस श्रेष्ठ, किराँत याक्थुङ्ग चुम्लुङ्गकी प्रतिनिधि इन्द्रकुमारी राई, मिसा खलकी अध्यक्ष रेणु श्रेष्ठ, शेर्पा संघका जिल्ला सचिव पासाङ शेर्पा, नगर समितिका सचिव दालामु शेर्पा, तामाङ घेदुङका सचिव सन्तवीर लामा, किराँत आठपहरिया समाजका केन्द्रिय महासचिव सुर्य आठपहरिया, उपाध्यक्ष सरकुमारी आठपहरिया लगायतले आ–आफ्नो धारणा राख्दै आदिवासी जनजाति लगायत पछि पारिएका समुदायले आन्दोलन गर्नुको विकल्प नरहेको औल्याएका थिए ।